१२ बैशाख २०८१, बुधबार

व्यावसायिक कृषिमा अधिकारी परिवार


Commercial Agriculture

१५ साउन, पोखरा । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ ।

आव२०३९÷४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लाग्नुभएका खगेन्द्रले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी खेतीसमेत गर्नाका साथै नयाँनयाँ जातका बोट बिरुवाको नर्सरीसमेत गर्नुभएको छ ।

कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै राम्रो शिक्षासमेत दिलाउनुभएका अधिकारीले हाल मासिक रू एक लाख आम्दानीसमेत गर्दै आउनुभएको छ । गोलभँेडा खेतीसँगै २०४३ सालमा चैनपुर फेदीमा लगाइएका लगभग २५० बोट सुन्तला लामो समयसम्म आयआर्जनको अर्को महत्वपूर्ण माध्यम बनेको उहाँले बताउनुभयो ।

गोलभेँडालगायत हिउँदे तरकारीका लागि मल आवश्यक भएका कारण मलकै लागि कुखुरापालनतर्फ आकर्षित हुनुुभएका अधिकारीलाई कुखुरापालन पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्यो ।

कुखुराको मलसँगै तरकारी उत्पादन पनि राम्रो हुने भएपछि ४५÷४६ सालतिरै १५० लेयर्स कुखुरा पालिएको जानकारी दिँदै उहाँले २०५० सालतिर बोइलर कुखुरा पाल्न थालिएको बताउनुभयो ।

“विसं २०५७ मा कुखुरापालनलाई विस्तार गर्न ठूलो टहरो बनायौँ,” उहाँले भन्नुभयो, “कुखुराका लागि धेरै भुस चाहिने तर त्यसको अभाव खड्केपछि राइस मिलसमेत सञ्चालनमा ल्याइयो ।”

राइस मिल सञ्चालन भएसँगै आउने ज्यालाबापतको अन्न बढी हुन थालेपछि अधिकारी परिवारले २०६३ सालमा ३०÷३२ वटासम्म गाईपालन शुरु ग¥यो । त्यसबखत दैनिक २०० देखि २५० लिटरसम्म दूध बजारमा पठाउने गरिएको खगेन्द्रका छोरा सुदनराज अधिकारीले जानकारी दिनुभयो ।

“व्यावसायिक कृषिमा विभिन्न प्रयोग गर्दा हामीले अधिकांशमा सफलता हासिल गरेका छौँ,” उहाँले भन्नुभयो, “व्यावसायिक कृषि नेपालमा युवा स्वरोजगार अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।”

विसं २०६९ सालसम्म चैनपुर फेदीमा सुन्तलाले राम्रै आम्दानी दिने गरेकामा एकाएक रोग लागि मरेपछि यतिखेर उक्त स्थानमा बहुउपयोगी पाउलोनियालगायतका बिरुवा लगाइएको उहाँको भनाइ थियो ।

सुन्तला मासिएपछि उक्त स्थानमा एक हजार २०० पाउलोनियाका विरुवा लगाइएको र बहुउपयोगी औषधिजन्य वनस्पति अगरुड, मलेसियन साल, सुन कागतीजस्ता बोट बिरुवाको नर्सरीसमेत शुरु गरिएको छ ।

उहाँहरूले चितवन, तनहुँ, गोरखा, स्याङजा, बागलुङ, म्याग्दी, पर्वतलगायतका स्थानमा ८० हजार पाउलोनियाका विरुवा वितरण गरिसक्नुभएको छ ।

आफूहरूको सम्पूर्ण परिवार नै व्यावसायिक कृषितर्फ लागेको बताउनुुहुने खगेन्द्रकी श्रीमती लक्ष्मीदेवीले काम गर्नसके व्यावसायिक कृषिमा धेरै सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

कृषिप्रतिको अनिच्छा र युवाको बढ्दो विदेश पलायनको अवस्थामा हाल अन्य चार युवालाई प्रत्यक्ष रोजगारी दिएको अधिकारीको परिवार अरुका लागि पनि अनुकरणीय बनेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !