११ बैशाख २०८१, मंगलबार

महोत्तरीमा साउने १५ पर्व मनाइँदै


Nepalpatra

१५ साउन, बर्दिवास । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ ।

खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ ।

पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराई बताउनुहुन्छ । आज अन्य दिनको तुलनामा दूधको माग पाँच गुणाले बढेको उहाँको भनाइ छ ।

यस्तै बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादव अरु दिन २०० लिटर दूध खपत हुँदै आएकामा आज एक हजार लिटर दूधको माग आएको बताउनुहुन्छ ।

जिल्लाको बर्दिवास नगरक्षेत्रका बर्दिवास चोकमात्र नभएर खयरमारा, चौलिखा, बेङ्खाडी, डाँडाटोल, हनुमानचोक, माइस्थान र पथलैयासहितका बजारमा आज बिहानैदेखि दूधको बिक्री वितरण बढेको छ । गौशाला नगरपालिकाको रजखोर, रामनगर, कान्तिबजार, गौशालाबजार, इमलीबजार, बेलगाछी तथा भङ्गाहा नगरपालिकाको सीतापुर र रामनगर बजारमा समेत ग्राहकको चहलपहल निकै बढेको पाइएको छ ।

साउने १५ पर्वमा बिबाहित चेलीवटीलाई माइत बोलाउने चलन छ । मौसमअनुकूल रहँदा साउन १५ सम्म धान रोपाइँ सकिने भएकाले यस पर्वमा पानीमा भिजेर काम गर्दा हुने चिसो र हिलोबाट पर्ने असर हटाउन खिर खाने चलन छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !