६ बैशाख २०८१, बिहिबार

एकथरी रोगको अर्काेथरी उपचार


Nepalpatra

९ साउन, ललितपुर । बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन् ।

अधिकांश किसानमा प्राविधिक कसैलाई पनि बिरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर बताउनुहुन्छ ।

एग्रोभेटले समस्या सुनेकै भरमा किसानलाई विषादी सिफारिश गर्दै आएका छन् । उहाँ भन्नुहुन्छ, “पेट दुख्दा टाउको दुखेको औषधि खाए जस्तै बिरुवाले सही उपचार पाएका छैनन् ।” एग्रोभेटबाट गलत विषादी हाल्दा बालीमा रोगको प्रकोप अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ ।

किसान आफन्त वा छिमेकीले गरेको देखेर वा सुनेकै भरमा विषादी छर्कने गरेका मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “के रोग हो भन्ने वास्तविकता नै नबुझ्दा त्यसले समाधान निकाल्न सक्दैन ।” रोग, किरा वा ढुसी के हो भन्ने समेत नजानी किसानले बालीमा विषादीको प्रयोग गर्ने गरेका छन् ।

किसानमा जस्तोसुकै रोग वा समस्या देखिनासाथ हतारिएर विषादी प्रयोग गर्ने बानी छ । कतिपय रोग वा किराको समाधान विषादी प्रयोग नगरी जैविक तरिकाले गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “प्राविधिकको सल्लाहमा जैविक उपचार नहुँदा मात्रै बालीमा सही विषादीको ठीक परिमाणमा प्रयोग गर्न सकिन्छ ।”

प्रयोगशालामा प्रयोग गरेर बालीमा भएको रोग वा किरा पत्ता लगाउन सकिन्छ । किसान बाली नष्ट भइसकेपछि मात्रै प्रयोगशाला पुग्ने गरेका छन् । एग्रोभेटले विषादी प्रयोग गर्दासमेत समस्या समाधान नभएपछि मात्रै प्रयोगशाला पठाउने गरेको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !