१३ बैशाख २०८१, बिहिबार

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु : अध्यक्ष दाहाल


Prachanda

२२ असार, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताउनुभएको छ ।

उहाँले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष दाहालले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता हुन् भन्नुभयो । उहाँले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता पनि प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उहाँलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको बताउनुभयो ।

कार्यक्रममा सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताउनुभयो ।

त्यसैगरी, सांसद डा डिला सङ्ग्रौलाले लोकतन्त्र र सुशासनका लागि योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताउनुभयो ।

पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले योगमायाको योगदान न्याय र सत्यका अनुयायीका लागि प्रेरक भएको विचार प्रकट गर्नुभयो ।

अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन् योगमाया ।

योगमायाले जुद्धशम्शेरलाई २६ बुँदे मागपत्र बुझाएर समाज परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, त्यसप्रति केही काम भएको नपाएपछि १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसँगै उहाँले जलसमाधि लिनुभएको थियो ।

उहाँ नेपालको पूर्वी जिल्ला भोजपुरमा जन्मनुभएको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !