१२ बैशाख २०८१, बुधबार

रतुवा खोलाले दुई परिवार विस्थापित


Ratwa Khola

२१ असार, दमक ।  रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् ।

बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ । श्रेष्ठ घरमै किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

उहाँले विसं २०४७ देखि बसोबास गरी आए पनि हालसम्म त्यस्तो जोखिम नआएको तर अहिले भने कटानले उठीबास गराएको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दुई दिन भयो, बाढीले गर्दा रातभरि जाग्राम बस्नुपरेको छ ।” कटान झनै बढ्न थालेपछि आजदेखि श्रेष्ठ परिवार विस्थापित भएका छन् ।”

केही दिनयता परेको अविरल वर्षाका कारण रतुवा खोलातर्फको बस्तीमा कटान तीव्र बनाएको छ । वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुबानमा परेको छ । उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको उपशाखा सचिव रमेश गुरागाईंले बताउनुभयो ।

वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले बस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस बस्तीका बसोबास गरी आएका दुई दर्जन बढी घर परिवार प्रभावित भएका छन् । बढी कटान क्षेत्रमा परेको सो बस्तीको आज नै दमक नगरपालिकाले अवलोकनसमेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत हुनुहुन्थ्यो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !