१२ बैशाख २०८१, बुधबार

कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु


Kumbeshwor Temple

१५ जेठ, ललितपुर ।  भूकम्प गएको झण्डै तीन वर्षपछि कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।

मन्दिरको पूरै भाग बनाउने कि क्षति पुगेका भाग मात्र बनाउने भन्ने टुंगो नलाग्दा लामो समयसम्म पुनःनिर्माण शुरु हुन सकेको थिएन । पाँचतले सो मन्दिरमा पहिला माथिल्लो दुई तला बनाइने र आवश्यक भए मात्रै अरु तलामा काम हुने योजना गरेर पुनःनिर्माण थालिएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दुई तला काम गरेपछि विज्ञसँग समेत सल्लाह गरेर अरुतिर आवश्यक हुँदा मात्रै गरिनेछ ।”
मन्दिरमा पुनः निर्माणको काम नेपाल सरकार आफैंँले गरिरहेको छ । स्थानीयवासीको भावना र विज्ञका सल्लाहानुसार नै काम हुने उहाँले बताउनुभयो । मन्दिर भत्काउँदा यहाँको सामानको सुरक्षाका विषयमा स्थानीयवासीले चासो देखाएका थिए ।

कार्यालयले अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालयलाई भनेर नियमित प्रहरी गस्ती गराउन थालेको छ । यहाँको गजूरको सुरक्षाकै लागि अहिले दरबार क्षेत्रकै मूलचोकमा राखिएको प्रमुख प्याकुरेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नियमित सात जना प्रहरी सुरक्षाका लागि खटिएकाले काम अघि बढाउँदा पनि मन्दिर सुरक्षित छ ।” मन्दिरलाई काठमाडौँ उपत्यकाको पाँचतले मन्दिर पुरानो मन्दिर मानिन्छ । मन्दिरमा सबै सोमबार विशेष गरेर साउनका सोमबार भक्तालुको भीड लाग्ने गरेको छ । पाटनका धेरै स्मारकको काम तीव्र गतिमा अघि बढे पनि विभिन्न अवरोधका कारण केहीको पुनःनिर्माण शुरु भइसकेको छैन ।

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी 
पाटन सङ्ग्रहालयले भइरहेको स्थायी प्रदर्शनीसँगै नयाँ अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले सुन्दरी चोकमा अर्काे महिनादेखि अस्थायी प्रदर्शनी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अस्थायी प्रदर्शनीमा फरक फरक विषयवस्तुमा आधारित सामग्री प्रदर्शनी हुनेछ । परम्परागत र संस्कृतिमा महत्व राख्ने विषयवस्तुको छनोट गर्दै जाने योजना लाखे सुनाउनुहुन्छ । एक डेढ महिनासम्म एउटा विषयवस्तुमा आधारित सामग्री राखिएपछि अर्काे सामग्री त्यति नै अवधिमा राखिनेछ । उहाँ भन्नुहुन्छ, “त्यसमा परम्परागत जनजीवनसँग जोडिएका र पर्यटकका लागि आकर्षक लाग्ने विषय हुनेछ ।”

विदेशीसँगै नेपाली आगन्तुक यसको लक्षित वर्ग हुनेछन् । नेपाली आगन्तुकमध्ये अधिकांश एक पटक आएपछि फर्किएर आउन चाहँदैनन् । उहाँ भन्नुहुन्छ, “विदेशीका लागि सबै कुरा नयाँ नै हुन्छ तर नेपाली भने एउटै कुरा कति हेर्नू भनेर सङ्ग्रहालय दोहोराएर नआएको हुन सक्छ ।”

अहिले सङ्ग्रहालयमा हेर्ने मात्रै भन्दा पनि नयाँ कुरा सिक्ने उद्देश्यले नेपाली आउने गरेका छन् । अस्थायी प्रदर्शनी शुरु भएपछि नेपाली आगन्तुकले एक डेढ महिनामा आउँदा नयाँ नयाँ कुरा पाउनेछन् । सङ्ग्रहालयमा आउने नेपाली तथा बिदेशी आगन्तुकको सङ्ख्या बढिरहेको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !