१३ बैशाख २०८१, बिहिबार

विद्युत् अनियमित भएर सास्ती


Electricity

१० जेठ, दाङ । जिल्लामा पछिल्लो समयमा विद्युत् आपूर्ति अनियमित हँुदै गएको छ । सरकारले यसअघि हँुदै आएको विद्युत् कटौती अन्त्यको घोषणा गरे पनि अघोषित रुपमा भइआएको कटौतीका कारण जिल्लावासी सास्ती खेप्न बाध्य छन् ।

विद्युत् छ, कम्प्युटर चल्दैन । पाँच मिनेट विद्युत् आउँछ, आधा घण्टासम्म आउँदैन । विद्युत् कार्यालयमा शिकायत गर्न फोन गर्न खोज्यो कहिले व्यस्त त कहिले घण्टौँ घण्टी गए पनि फोन उठ्दैन । झ्याप्प झ्याप्प आउने विद्युत्ले सेवाभन्दा सास्ती धेरै दिएको छ । बेठेगानको विद्युत् सेवाप्रति सधँै उपभोक्ताहरु बेखबर छन् ।

के समस्या हो भनेर उपभोक्ताहरुले सोध्दा बेखबरजस्तै हुन्छन् विद्युत्का अधिकारीहरु । सम्पर्क भइहाले पनि आधिकारिक जवाफ कहिल्यै दिँदैनन् । फोन उठिहाल्यो भने पनि एक छिनपछि आउँछ है, राख्नुहोस्, हामीहरुले बनाउँदैछौँ भन्ने जवाफ पाइन्छ । कहिले त दिनभर विद्युत् आउँदैन । यसरी नै पछिल्लो केही समययता दाङको तुलसीपुरलगायतका क्षेत्रको विद्युत् आपूर्ति अनियमित बन्दै गएको छ । विद्युत् आए पनि पाँच मिनेटपछि फेरि झ्याप झ्याप जाने समस्या रहेको छ ।

विद्युत्को अघोषित कटौतीका कारण यहाँका उद्योगी, व्यवसायी र आम उपभोक्ताले दैनिक यस्तै समस्या भोग्दै आएका छन् । हाल विद्युत् जाने आउने भएका कारण निकै समस्या भएको स्थानीय व्यवसायी माधवकुमार केसीले बताउनुभयो । भोल्टेज लो भएका कारण बत्ती आएको समयमा उद्योग कलकारखाना सञ्चालन नहुने र छिनछिनमा विद्युत् आपूर्ति बन्द हँुदा व्यवसायी नै धरापमा पर्ने गरेको व्यवसायीहरु बताउछन् । “जसले जे गरे पनि भएको छ यो ठाउँमा, विद्युत्को लापरबाहीका कारण हामीहरु धेरै मर्कामा परेका छौँ, लोडसेडिङ हो भने यसको अन्त्य भएको सुनिन्छ हैन भने हिजो दिनभर विद्युत् आएन, राति पनि लाइन थिएन,” व्यवसायी सुन्दर केसीले भन्नुभयो ।

“वितरित लाइनबाट ३३ हजार भोल्ट आउनुपर्ने हो, तर लिकेज हुँदै घोराहीसम्म आइपुग्दा बढीमा २६ हजार भोल्ट नाघ्दैन, त्यसैले लो भोल्टेजको समस्या व्यापक बन्दै गएको छ,” विद्युत् प्राधिकरण कार्यालय घोराहीका इन्जिनियर प्रमोद सिंहले भन्नुभयो । ठाउँठाउँमा पावर ब्रेकर नहुँदा र आवश्यकतानुसारको दूरीमा सबस्टेशन नहुँदा समस्या आएको उहाँको भनाइ छ । ग्राहकको माग दिनदिनै बढ्दै गएका छ तर, विद्युत् क्षमताको वृद्धि करीब एक दशकदेखि भएको छैन । यसको मार विद्युत् उपभोक्ताहरुमा पर्दै आएको छ ।

इन्जिनियर सिंहले भन्नुभयो, “घोराहीको झिङनीमा नवनिर्मित सबस्टेशन र पश्चिम दाङको हापुरेमा निर्मित सबस्टेशन सञ्चालनमा आए लो भोल्टेजको समस्या धेरै हदसम्म समाधान हुन्छ, त्यसका लागि अझै कम्तीमा ६ महिना लाग्न सक्छ ।” तर हापुरेको लाइन तुलसीपुरसम्म ल्याउन नसकेर महिनौँदेखि सबस्टेशनमा डम्पिङ भएको अवस्थामा पनि विद्युत् कार्यालय र सरोकारवालाले कुनै पहल गरेका छैनन् ।

विद्युत् कार्यालयका कर्मचारीहरु अचेल ओभरलोड व्यवस्थापनमै हैरान देखिन्छन् । सरकारले बत्तीको क्षमता नभए पनि विद्युत् कटौतीमुक्त मुलुक घोषणा गरेपछि समस्यामा परेका छन् कर्मचारीहरु । “लोडसेडिङ गर भनेर माथिल्लो निकायले भनेको छैन, तर ओभर लोड आए विद्युत् काट्नुको विकल्प छैन,” विद्युत् कार्यालय घोराहीका इन्जिनियर सिंहले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !