११ बैशाख २०८१, मंगलबार

यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो


भक्तपुरमा ईन्द्रजात्रा फाइल फोटो

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यम:द्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।

भक्तपुरको ईन्द्रजात्रामा स्थानीय गुठीयारले टोल टोलमा यम:द्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाउँछन् ।

जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरका टोल टोलमा विधिवत पूजाआजा हित नगरका ईताछें., तेखापुखु:, मुलाख:ु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, ग:हीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यम:द्यो ठड्याइन्छ । दोस्रो दिनलाई शून्य दिन मानिन्छ । यस दिन जात्राको कुनै कार्यक्रम हुने छैन ।

जात्राको तेस्रो दिन अर्थात ईन्द्रजात्राका दिन साँझ खौमास्थित ईन्द्रायणी देवीको खट जात्रा मनाइन्छ । जात्रामा ईन्द्रायणी देवीलाई सिंङ्गारपटार गरी विधिवत पूजा गरेर परम्परागत बाजागाजाका साथ दाफा, भजन गाएर, स्थानीय महिला हाकुपटासीमा सजिएर सुकुना बालेर, बालबालिका र वृद्ध ढुप दिप बालेर सिद्धपोखरीले परिचित ईन्द्र दहको दक्षिण दिशाको बिचमा ल्याई विराजमान गराइन्छ । जात्राको क्रममा राति पालाको दिप बालेर दहलाई सजाइन्छ । यस दिन राति दहमा मेला लाग्छ । मध्यराति तान्त्रिक पूजा गरी ईन्द्रायणीलाई भोगवली चढाउने परम्परा रहेको छ ।

जात्राको चौथौ दिन यन्या पुन्ही(भाद्र शुक्ल पुर्णिमा)का अवसरमा धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दहमा बिहानै स्नान गरी ईन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँलो लाग्ने गर्छ । देवराज ईन्द्रले स्नान गरेको दह हुनाले यस दिन ईन्द्र दहमा स्नान गरी ईन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सु:ख समृद्धि मिल्ने जनविश्वास छ ।

यस दिन ईन्द्रायणी देवीको मात्र नभएर दह छेउछाउमा रहेका लिच्छविकालीन र मल्लकालीन शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्तिहरु तथा वासुकी नागको पूजा गरिन्छ । दहको पूर्वदिशामा रहेको शिवलिङ्गमा जल चढाइ पिउने परम्परा छ । राती ईन्द्रायणी देवीलाई परम्परागत बाजागाजाका साथ पुन: जात्रा गरी खौमा स्थित देवगृहमा ल्याई विधिवत पूजा गरी आशनमा विराजमान गराइन्छ । जात्राको पाँचौ दिनलाई पनि शून्य मानिन्छ ।

जात्राको छैठौँ दिनदेखि तीन दिनसम्म लगातार याँमता र मुपात्र जात्रा मनाइन्छ । पहिलो दिन सकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिरमा एक जोडी याँमता (त्रिशुल आकारको माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ती) बालिन्छ ।

लगतै तचपालको सँला गणेशलाई विधिवत पूजा गरी खटमा राखिन्छ । गणेशलाई खटमा राखिसकेपछि अगाडि याँमता त्यसपछि सलाँ गणेशको जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा मनाइन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यम:द्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धि:चा नामक उनका अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाइ अनुहारमा विभिन्न रङ लगाइ सिंङ्गारपटारका साथ तरवार समात्न लगाई शहर परिक्रमा गराउने प्रचलन छ । शहर परिक्रमा गर्दा टोल टोलमा ठड्याएको यम:द्योलाई मुपात्रले तीन पटक घुमेर तरवारले हान्ने गरिन्छ ।

जात्राको सातौ दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय साँझ छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता चोछेंमा पुगेपछि छुमा गणेश त्यसको पछाडी गई जात्रा गर्छ । लगतै भक्तपुरको दरबार स्क्वायरबाट मुपात्र निकालेर जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिनमा तल्लो टोलको मानन्धर समुदायले एक जोडी याँमता लाने परम्परा छ । यस दिन याँमतासँगै तमारी(तौमढी)को भैरवको खट जात्रा र पुलुकिसी जात्रा गरिन्छ । सुरुमा तल्लो टोल तेखाचो र तापालाछींका मानन्धर समुदायले भैरवनाथ मन्दिरमा गई सुकना बालेर आउँछ । त्यसपछि बुलाचास्थित ढुङ्गेधारामा एकजोडी याँमता बालेर जान्छ । त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको रथलाई परिक्रमा गराइन्छ । परिक्रमा गर्नु पुर्व गुठी संस्थानबाट भैरवलाई विधिवत रुपमा बली पूजा गरिन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपाडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । जात्रा सुरु गर्न अगाडि तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

देवराज ईन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रुपमा लिइने पुलुकिसीलाई नगर परिक्रमा गराउँदा दोबाटो चौबाटोमा धान खुवाउने, टौमढी र दरवार स्क्वायरको डबलीमा आगो तपाउने, सूजमारीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ ।

जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार पुलुसिकी आउ“दा सुंढले छुन्छकी भनी मानिसहरु परपर भाग्ने गर्दछ । देवीपुराण ग्रन्थअनुसार पुलुकिसी जात्रा देवराज ईन्द्रका पुत्र जयन्तलाई खोज्न हिडेको सम्झनामा मनाएको हो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा शुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

ईन्द्रजात्रा द्धापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणहरुको संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

लोककथनअनुसार स्वर्गका राजा देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो पर्‍यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लडाई गरे ।

लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रका सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएका आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको प्राडा श्रेष्ठले बताए ।

भक्तपुरमा ईन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपत्ति आइनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको प्राडा श्रेष्ठले बताए । साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उनको भनाइ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !