१३ बैशाख २०८१, बिहिबार

पलले बलात्कारको मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष जेल


पल शाह

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको जेल सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भएपनि न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज मंगलवार बहसपछि बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।

फैसलाअनुसार पीडित नाबालिग गायिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश जारी गरेको छ भने अभिभावकलाई समेत सचेत गराएको छ । ती नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

गत फागुनमा नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा र फागुन १५ गते नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । जबर्जस्ती करणीको जाहेरी परेपछि पल शाह फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

यद्यपि तनहुँ र नवलपरासीको अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका बुबाले पनि ‘बुझ्दै जाँदा त्यस्तो केही नै नभएको रैछ’ भन्दै आफ्नो बयान फेरेर दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !