८ बैशाख २०८१, शनिबार

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा दायर


विशेष अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

शाहले धनुषा साबिक पिडारी–५ स्थितका किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।

हाल, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४)ले निरन्तरता दिएको देखिन आए पनि शाहको मृत्यु भइसकेको हुँदा ‘अपराधीसँगै अपराध मर्छ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ र १५८ समेतको कानुनी व्यवस्थाबमोजिम ‘निजलाई कैद र जरिमाना सजाय हुन नसक्ने व्यवस्था भएकाले सोहीबमोजिम मुद्दा दर्ता गरेको’ आयोगले जनाएको छ ।

शाहलाई भ्रष्टाचार निवारण ऐन २०२९ को दफा ८ को उपदफा (४) बमोजिम २९ करोड ८८ लाख ८१ हजार ४ सय ३७ रुपैयाँ ५० पैसा बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

उनीसहित जनकपुर गुठीका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, मालपोत कार्यालय धनुषाकै तत्कालीन खरिदार जगदेव कामती, दिवशविक्रम शाह, विभाकुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफलाकुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितु कुमारी झाविरुद्ध मुद्दा दायर गरिएको छ ।

यसैगरी, शर्मिला कुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकलीदेवी यादव, नवीनकुमार झा, मीना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिकादेवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुरलाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको आयोगले जनायो । उनीहरू मिलेर गैरकानुनी रूपमा व्यक्ति विशेषका नाममा सरकारी जग्गा दर्ता गराएको दाबी गरिएको छ ।

कार्यालय प्रमुख बस्ताकोटीले तत्कालीन श्री ५ को सरकारको नाममा रहेका जग्गा भिड्दै नभिड्ने गुठी लगत कायम गरी कुमार खड्गविक्रम शाहको नाममा दर्ता कायम गराइएको पाइएको छ । बस्ताकोटीले ‘शाहको नाममा प्रमाण पुर्जा बनाइदिन’ भन्दै मालपोत कार्यालय धनुषालाई पत्राचारसमेत गरेको पाइएको छ ।

बस्ताकोटीको सिफारिसअनुसार मालपोत कार्यालयका तत्कालीन प्रमुख पञ्जियारले सरकारको नाममा रहेको सो जग्गा कुमार खड्गविक्रम शाहको नाममा दर्ता कायम गराएको अख्तियारको दाबी छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !