११ बैशाख २०८१, मंगलबार

फोटोसहितको मतदाता नामावली अद्यावधि गर्न शुरु


election

 

२४ वैशाख, चितवन ।  निर्वाचन आयोगले वैशाख १ गतेबाट देशैभरि एकैसाथ शुरु गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा आइतबारसम्म १३४ जना नयाँ मतदाताले आफ्नो नामदर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ जना महिला र ७३ जना पुरुषले नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ता गराउन नेपाली नागरिकता अनिवार्य चाहिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले बताउनुभयो । मतदाता नामावलीमा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि मतदाता नामावलीमा नामदर्ता भएकाले पुनःनामदर्ता गर्न नपर्ने निर्वाचान कार्यालयले जनाएको छ ।

अठार वर्ष पुगेर नेपाली नागरिकता लिएकाले फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गर्न सक्नेछन् । जिल्लामा पछिल्लो निर्वाचनको मतदाताको अन्तिम संख्या तीन लाख ५४ हजार ३६ रहेको छ ।

इच्छाकामनामा दश उजुरी

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको न्यायिक समितिमा १० वटा उजुरी परेका छन् ।

गाउँपालिकामा जननिर्वाचित भई प्रतिनिधि आएको एकवर्ष बित्न लाग्दा न्यायिक समितिमा १० वटा मात्रै उजुरी परेका हुन् । उजुरीमध्ये छ वटाको छिनोफानो भइसकेको छ भने चारवटा विचाराधीन अवस्थामा रहेको गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकामा आएका उजुरी बहुविवाहका बढी रहेका छन् । उजुरीमध्ये चारवटा बहुविवाहका रहेका छन् भने अन्य साँधसीमाना मिचिएको, लेनदेनलगायतका रहेका छन् ।

न्यायिक समितिमा आएका उजुरीलाई अधिकांशलाई मेलमिलाप गराएर पठाइएको उहाँले बताउनुभयो ।

सामान्य उजुरी दैनिक रुपमा आउने गरेको भए पनि दर्ता नगरी आपसी समझदारीमा टुङ्ग्याउने गरेको श्रेष्ठले बताउनुभयो । मेलमिलापमार्फत समस्या समाधान गर्दा दुबै पक्षको विजयी भएको महशुस हुने भएकाले मेलमिलापलाई प्राथमिकता राखिएको उहाँले बताउनुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !