८ बैशाख २०८१, शनिबार

चैतमा आइजिपी बन्न डिआइजी फुली नलाउँदै अहिलेदेखि नै दौडधुप सुरु


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको थियो।

एसएसपीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डिआइजीमा बढुवा सिफारिस गरिएको थियो।

सिफारिस अनुसार डिआइजिमा बढुवा भएका १७ जनाले नै आइतबार डिआइजीको दर्ज्यानी चिह्न (फुली) लगाए। उनीहरूलाई प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरी डिआइजीको जिम्मेवारी प्रदान गरे । नेपाल प्रहरीले यिनै १७ जनामध्येबाट आठ महिनापछि नयाँ आइजिपि बन्ने सम्भावना बलियो छ।

महानिरीक्षक सिंहको कार्यकाल अर्को कुनै आश्चर्य नभए चैतको दोस्रो साता सकिन्छ। नेपाल प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीको अधिकतम सेवा अवधि ३० वर्ष छ भने उमेर हद ५६ वर्ष। सेवा अवधिका कारण महानिरीक्षक सिंह चैत दोस्रो साता अवकाशमा जाँदैछन्।

उनी २०४९ चैत १२ गते सेवा प्रवेश गरेका थिए। उनी चैतसम्म नै आइजिपी रहने/नरहने प्रश्नको उत्तर सर्वोच्च अदालतको हातमा पनि निर्भर छ। उनको नियुक्तिविरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन्। मुद्दा विचाराधीन छ।

मुद्दाको फैसला आइजिपी सिंहको पक्ष वा विपक्षमा जेसुकै आए पनि अहिले डिआइजीमा बढुवा भएका १७ जनामध्येबाटै चैत दोस्रो सातापछि नयाँ आइजिपी हुने सम्भावना बलियो छ। आइजिपी सिंह मात्रै होइन, भर्खर डिआइजी भएका भन्दा सिनियर प्रहरी अधिकृतहरू सबै चैत १२ गतेअगावै कोही उमेर हद त कोही सेवा अवधिका कारण

अवकाशमा जानेछन्। नेपाल प्रहरीमा हाल अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को दरबन्दी नौवटा छन्। जसमा कार्यरत सबै आइजिपी सिंहकै ब्याचमेट छन्। त्यसकारण उनीहरू सबै चैत दोस्रो साताअगावै अवकाशमा जाने निश्चित छ।

नेपाल प्रहरीमा डिआइजीको दरबन्दी २० छ। १७ जना भर्खरै डिआइजीमा बढुवा भएका छन्। पुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ पनि पहिलादेखि नै डिआइजी छन्। यी तीनजना आइजिपी सिंहकै ब्याचमेट हुन्। त्यसैले उनीहरूले पनि चैत १२ गतेअगावै अवकाश पाउनेछन्। बाँकी यिनै १७ डिआइजीमध्येबाट एकजना चैतमा आइजिपी बन्ने बलियो सम्भावना रहेको स्रोत बताउँछ।

डिआइजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आइजिपीका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा अरूण बमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !