८ बैशाख २०८१, शनिबार

यातायात नचलाउने व्यवसायीलाई कारवाही गर्न गृहमन्त्री थापाको  निर्देशन


Ram Bahadur Thapa Badal

२१ वैशाख, काठमाण्डौ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले गृहसचिवमार्फत देशभरका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका हुन् ।

यातायात व्यवसायीले सरकारले जारी गरेको निर्देशिका खारेजको माग गर्दै करिब साढे २ लाख सार्वजनिक सवारी साधन आज बन्द गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध रहेका करिब २ लाख ५० हजार सार्वजनिक सवारीसाधन बसपार्क र ग्यारेजमा थन्क्याइएको भए पनि कम्पनीमा दर्ता भएका सवारी साधन भने निर्वाध रुपमा चलेका छन् ।

यातायात व्यवस्था विभागले हालै जारी गरेको निर्देशिका खारेजको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफूहरुको माग पूरा नगरे २६ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरेर २७ गतेदेखि अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीको विरोधमा सहरी यातायात, सिटी यातायात, न्यु घले ट्राभल्स, कार्यविनायक, ओरेन्ज यातायात प्राली, सुहान एक्सप्रेस, हलेसी दर्शन, टुरिष्ट चक्रपथ, कान्तिपुर लगायतका सवारी साधनले सेवा दिइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !