१२ बैशाख २०८१, बुधबार

प्रदेश २ मा अाज सार्वजनिक बिदा


Pradesh-2

११ वैशाख, धनुषा । प्रदेश नम्बर २ को सरकारले ११ गते मंगलबार जानकी नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

संघीय सरकारले तोकेबाहेक प्रदेश नम्बर २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको त्यस निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताउनुभयो ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइने बताइएको छ ।

प्रदेश सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करीब दुई साता बितिसक्दा पनि संघीय सरकार मातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन । कुनै पनि कानून वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको विभागमा प्रकाशित गर्नुपर्छ । प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौँ पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !