७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचनको लागि ४ हजार मतदान केन्द्र थप


निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संख्या बढाउने तयारी गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मतदाता संख्यासमेत बढेको भन्दै आयोगले मतदान स्थल र केन्द्रको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढाउने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाताको संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा बढेकाले मतदान स्थल र मतदान केन्द्रको संख्यासमेत थप हुने जानकारी दिएका हुन् ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम गरिएको थियो ।

आयोगले यसपटक भने १० हजार ७ सय ५६ मतदान स्थल र मतदान केन्द्रको संख्या २२ हजार ५ सय पु-याउनेगरी तयारी अघि बढाएको हो । मतदान स्थलभित्रै मतदान केन्द्र कायम हुनेछन् ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ५४ हजार मतदाता संख्या कायम थियो । यसपटक भने मतदाता संख्या १ करोड ७८ लाख पुग्ने आयोगको अनुमान छ । यो संख्या कायम भए अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा ३८ लाख मतदाता बढी हुनेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !