१२ बैशाख २०८१, बुधबार

पार्टी एकताबारे ओली र प्रचण्ड छलफल गर्दै


kp-oli-prachanda

३ वैशाख, काठमाण्डाै । पार्टी एकताको विषयमा अन्योल बढ्दै जाँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सोमबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुन लागेको हो ।

आरामका लागि भन्दै हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड आज उतैबाट बालुवाटार पुग्ने उहाँको निजी सचिवालयले जनाएको छ । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला ९ दिनमा यसबारे कुनै पनि छलफल भएको छैन ।

दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेका दुईवटा कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाए पनि शीर्ष नेतृत्वस्तरमा छलफल नै हुन नसक्दा बैशाख ९ गते एकता घोषणा नहुने आशंका बढ्दै गएको छ ।

एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिल आआफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका हुन् ।

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा एमाले र माओवादीबिच कुरा मिल्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !