१३ बैशाख २०८१, बिहिबार

सेयरबजार जसरी बढ्यो, उसैगरी घट्यो


Bearish Market

२७ चैत, काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ भने कारोबार रकममा पनि उस्तै गिरावट आएको छ । बजारका सुधारका केही सकारात्मक खबरको कम र चलखेल गर्नेहरुको बढी प्रभावका कारण ह्वात्तै बढेको बजारको वृद्धि यात्रा निरन्तर हुन सकेन ।

मंगलबार नेप्से परिसूचक १७.५५ अंकले घटेर १२७०.२३ विन्दूमा सीमित भएको छ भने कारोबार रकम अघिल्लो दिनको ९४ करोडबाट घटेर ३५ करोडमा सीमित बन्न पुगेको छ।

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप ह्वात्तै बढेपछि सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत १.२६ अंकले गिरावट आएको छ ।

यो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहका लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ । यो समूहको सूचक ३.०५ प्रतिशत(६९.५८ अंक)ले घटेको छ । यस्तै, बैकिंग समूह १५.१९ अंक, बिमा समूह ९४.६३ अंक, विकास बैंक समूह १७.६४, माइक्रोफाइनान्स समूह २६.४६, होटल समूह ४.१६, जलविद्युत समूह ४०.५८, बित्त समूह ३.०९ र अन्य समूह ३.१५ अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ९ लाख ८३ हजार १ सय ५९ कित्ता सेयर ३४ करोड ९० लाख ५१ ह्जार ७७ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी बुटवल पावर कम्पनीले १ करोड ३६ लाख बढीको कारोबार गरेको छ । नवील बैंकले १ करोड १८ लाख, युनिलिभर नेपाल लिमीटेडले ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख, प्रभू इन्स्योरेन्सले ९५ लाख, चिलिमे हाइडोले ९४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ९२ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ८५ लाख, नेपाल बैंकले ८४ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । यस्तै, उन्नति माइक्रोफाइनान्सको सेयर मूल्यमा समेत ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ७.५ प्रतिशतले घट्यो । तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य पनि ७  प्रतिशतको हाराहारीमा घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !