१३ बैशाख २०८१, बिहिबार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो


Bullish trend share-market

२२ चैत, काठमाण्डौ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक(नेप्से परिसूचक)मा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल देखिएको छ ।

बुधबार पनि बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो । परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) एकसाथ बढ्नु बजारको भविष्यका लागि सुखद संकेत हो । यो प्रवृति जारी रहेको खण्डमा भविष्यमा बजारले उछालको गति लिने विश्लेषकहरु बताउँछन् । बुधबार र बिहीबारकै बजारको प्रवृति हेर्दा विश्लेषकहरुले भनेजस्तो बजारमा उछाल आउनसक्ने आधारहरु प्रशस्त देखिएका छन् ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक २३.९४ अंकले वृद्धि भई १२५०.३९ विन्दूमा पुगेको छ । कारोबार रकममा उछाल आई ६२ करोडको हाराहारीमा पुगेको छ । यो निकै उत्साहजनक कारोबारको अवस्था हो ।

यो दिन बजारमा क वर्गका कम्पनीहरुमा खरीद चाप परेका कारण सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले बढेको छ । यस्तै समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.८६ अंकले बढ्यो ।

बैकिंग समूह १८.९९ अंकले बढ्यो भने विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहमा क्रमशः ३१.८१, ३५.४५ र १७४.९५ अंकको बढोत्तरी भयो । यस्तै, बित्त समूह ५.१ अंकले बढ्यो भने होटल समूह १४.७१, जलविद्युत समूह ३५.७५, उत्पादनमूलक ४९.५६ र अन्य समूह ७.९२ अंकले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका १५ लाख १४ हजार ३ सय ६९ कित्ता सेयर ६१ करोड ९३ लाख ८३ हजार ८ सय ६६ रुपैयाँमा किनबेच भयो । यो दिन नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै ३ करोड ९१ लाख बढीको कारोबार गर्यो । नवील बैंकले २ करोड ६९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २३ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ८२ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ७६ लाख, सानिमा बैंकले १ करोड ४१ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ३५ लाख, नेपाल बैंकले १ करोड ३२ लाख, एभरेष्ट बैंकले १ करोड २९ लाख र नेपाल एसबीआई बैंकले १ करोड २८ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भयो । मिथिला लघुवित्त विकास बैंक र ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ९ प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाए ।

यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.१९ अंकले घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !