७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंक र संस्कृत विश्वविद्यालयबीच सम्झौता


राष्ट्रिय वाणिज्य बैंक

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले हस्ताक्षर गरे ।

सम्झौता समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले यो सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत यो सम्झौताबाट लाभान्वित हुने विश्वास लिईएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गराउंदै जाने बताए ।

राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म १२४ वटा एटिएम संचालनमा छन् । बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति, प्रहरी, नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम र त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य समेत गर्दै आइरहेको छ । बैंकले वार्षिक करिव २२ अर्व रुपैंयाभन्दा बढी पेन्सन वितरण गर्दै आईरहेको छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखहरु र नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा. कार्तिकेय झा तथा बरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !