७ बैशाख २०८१, शुक्रबार

एएफसी एसियन कप छनोट खेलका लागि फुटबल टिमको विदाई


Nepali Football team

९ चैत, काठमाण्डौ । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लेग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई विदाई तथा शुभकामना दिएका हुन् । सोलिडारिटी कप विजेताको हैसियतमा तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले यस अघिका पाँच खेलमा जित हात पार्न नसकेपछि छनोट हुने सम्भावना भने सकिएको छ ।

तर यमनका लागि यो खेल महत्वपूर्ण छ । समूहको पाँच खेलबाट यमनको ७ अंक छ । हलचोक स्थित मैदानमा भएको पहिलो लेगमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ ।

नेपाल र यमनवीचको खेल कतारको दोहामा मंगलबार हुनेछ । २० सदस्यिय नेपाली टिममा गोलरक्षकहरु किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् भने डिफेन्डरहरुमा विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ छन् ।

यस्तै मिडफिल्डरहरु रोहीत चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर छन् । यस्तै स्ट्राइकरमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुमन लामा छन् । नेपाली टिम आइतबार कतार प्रस्तान गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !