७ बैशाख २०८१, शुक्रबार

लगानीकर्ता दोश्रो बजारबाट भाग्दै, सोमबार पनि थामिएन सेयर बजारको गिरावट


Bearish Market

५ चैत, काठमाण्डौ । सोमबार पनि बजार बढ्न सकेन । बजार सूचक नेप्से सोमबार ८.४४ अंकले तल झरेर १२७०.५२ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६६% ले तल झरेको हो । कुल १५२ कम्पनीको २६ करोड ६२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ७ लाख ७१ हजार ९९४ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार नेप्सेमा सूचीकृत १० वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचकमा हरियाली देखिएको छ भने बाँकी समूहका सूचक राता भएका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक ५०.३२ अंकले घटेको छ । यस्तै, होटेल समूह ३२.२८, जलविद्युतमा २२.१८, विकास बैंकमा ८.७९ र वाणिज्य बैंक समूह ८.८५ अंकले ओरालो लागेका छन् ।

आज ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.७९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७६ अंकको गिरावट आयो ।

आज स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, सानिमा इक्वीटी फण्डको इकाई मूल्य समेत ५.०५ प्रतिशतले बढ्यो । यता अपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ९.८० प्रतिशतको पहिरो गयो ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको ३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र नबिल बैंक परेका छन् ।

यसरी बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले गिरावट आउँदा र यस्तो प्रवृति जारी रहँदा भविष्यमा बजार अझै घट्नसक्ने विश्लेषकहरु बताउने गर्छन् ।

विशेषगरी लगानीयोग्य रकमको अभावका कारण बैंक तथा बित्तीय संस्थाहरुबाट सहज ढंगले कर्जा पाउन छाडिएपछि, धेरै लगानीकर्ता सरकारले प्रस्तुत गर्ने श्वेतपत्रको पर्खाईमा रहेका र हकप्रदको थामिनसक्नु बोझलाई कम गर्न कतिपयले सेयर बिक्री गर्ने प्रवृति लगायतका कारणले बजार निरन्तर घटिरहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !