७ बैशाख २०८१, शुक्रबार

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा


बिजुली

बागलुङ । पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति बन्द भयो ।

गलकोट नगरपालिका–४ का उपभोक्ता चुँडामणी शर्माका अनुसार यस्तो समस्या एक दिनको मात्रै भने होइन । गलकोट र आसपासका भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या वर्षौँ पुरानो हो । उपभोक्ताले विद्युत् आपूर्ति बन्द हुनेबारे पूर्वसूचनासमेत पाउँदैनन् ।

कहिलेकाहिँ त बिनाजानकारी एक÷दुई दिनसम्मै बिजुली आउँदैन । त्यस्तो बेला अँध्यारोमै रात काट्नुपर्ने बाध्यता सर्वसाधारणमा छ । विद्यालय सञ्चालकसमेत रहनुभएका शर्माले विद्युत् अनियमित हुँदा कोरोना महामारीका बेला चलिरहेका अनलाइन कक्षासमेत प्रभावित भइरहेको बताउनुभयो ।

“लोडसेडिङमाझैँ दिनमै कैँयौपटक बिजुली जान्छ, यो समस्या अन्त्यको लागि सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्”, उहाँले भन्नुभयो । विद्युत् अनियमितताको मार घरको भान्सादेखि उद्योग, व्यवसायसम्म पर्ने गरेको छ ।

सार्वजनिक सेवा प्रवाहमासमेत यसको असर छ । विद्युत् आपूर्ति रोकिँदा सरकारी कार्यालयका कतिपय कामकाज ठप्प हुन्छन् । लामो समय बिजुली जाँदा एफएम रेडियोसमेत बन्द गर्नुपर्ने अवस्था रहेको सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले बताउनुभयो ।

“ब्याट्रीले निश्चित समय थेग्छ, ब्याकअप सकियो भने रेडियो बन्द हुन्छ”, उहाँले भन्नुभयो । घण्टौँसम्म बिजुली नआउँदा रेडियो बन्द भएको नमिठो अनुभव गौतमले सुनाउनुभयो । रेडियो नै बन्द हुँदा सर्वसाधारणले सूचना पाउने अधिकार पनि बेलाबेला कुण्ठित हुने गरेको छ ।

केन्द्रीय प्रसारण लाइन पुगेको दशकबढी भएपनि गलकोट भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या अझै ज्यूँकात्यू छ । गलकोट नगरपालिका–५ हरिचौरमा सब–स्टेशन बनेर सञ्चालनमा आएपनि उक्त समस्या हटेको छैन ।

गलकोट–३ हटियास्थित नेपाल विद्युत् प्राधिकरणको ‘नो लाइट’ कार्यालयका प्राविधिक नरेन्द्र पुनले प्राविधिक त्रुटीका कारण विद्य्त अनियमित हुने गरेको बताउनुभयो । प्रसारण लाइनको दूरी लामो भएकाले पनि प्राविधिक समस्या आइरहने उहाँको भनाइ छ ।

“वर्षायाममा बढी समस्या हुन्छ, कहिले पहिराले पोलमा क्षति गर्छ, कहिले रुख ढलेर प्रसारण लाइनमा पर्छ”, उहाँले भन्नुभयो । हरिचौरमा सब–स्टेशन बनेपछि पहिलेको तुलनामा समस्या केही कम भएको पुनले बताउनुभयो ।

विद्युत् विस्तार, मर्मत आदि काम प्रायः सार्वजनिक बिदाका दिनमा हुने गरेको र त्यसबारे पहिले नै उपभोक्तालाई सूचित गर्ने गरिएको उहाँको भनाइ छ । पछिल्लो समय गलकोट र बुर्तिबाङ फिडरका लागि एउटै ब्रेकर प्रयोग गर्नु परेकाले पनि आपूर्ति राकिने समस्या बढी देखिएको कार्यालयले जनाएको छ ।

जनशक्ति र स्रोत साधनको अभावमा ‘नो लाइट’ कार्यालयले पनि छरितो र चुस्त सेवा दिन सकेको छैन । कार्यालयको कार्यक्षेत्र गलकोटसहित ताराखोला गाउँपालिकालाई पनि तोकिएको छ । पुनसहित कार्यालयमा रहेका दुई जना प्राविधिकलाई मर्मतका लागि ‘फिल्ड’ जानै भ्याइनभ्याइ हुन्छ ।

गाडीको व्यवस्था हुन सके ‘फिल्ड’को काम अझ छिटो र प्रभावकारी हुने प्राविधिक बताउँछन् । प्राविधिक त्रुटीलाई देखाउँदै कार्यालयका कर्मचारी उम्कने गरेपनि उपभोक्ता भने विद्युत् आउने÷जाने समस्याबाट हैरान छन् । गलकोटको बिजुलीको केही भर नभएको भन्दै उनीहरु चर्को गुनासो गर्छन् ।

विद्युत् सेवालाई नियमित गराउन पटकपटक नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रको ध्यानाकर्षण गराइएपनि कुनै सुनुवाई हुन सकेको छैन ।

गलकोटमा ३३ र ११ केभिए प्रसारण लाइनबाट विद्युत् वितरण भइरहेको छ । केन्द्रले आउँदो वर्षसम्ममा जिल्लाभर राष्ट्रिय प्रसारणको विद्युत् विस्तार गरिसक्ने लक्ष्य लिएको छ । निसीखोला र तमानखोला गाउँपालिकाबाहेक यहाँका सबै स्थानीय तहमा केन्द्रीय बिजुली पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !