१२ बैशाख २०८१, बुधबार

अझै जीर्णोद्धार हुन सकेन नरसिंह मन्दिर


पलाञ्चोक भगवती मन्दिर

ललितपुर । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन । विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भएकाले काम रोकिएको बताइएको छ ।

जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न प्रकारका नयाँ इँटा बनाउन नयाँ साँचो पनि बनाउनुपर्छ । आधा जति साँचो बनाउने काम सम्पन्न भइ इँटा पनि बन्ने काम भएको छ । बाँकी आधा नयाँ साँचो बनाएर इँटा बन्ने काम भने कहिले सम्पन्न हुने हो भन्न सकिएको छैन ।”

जीर्णोद्धारका लागि आवश्यक इँटा केही महिनाअघि बनाउन दिएको थियो । समयसँगै इँटाको भाउ र कामदारको पनि ज्याला बढेकाले काम सुस्त गतिमा बढेको उहाँले गुनासो गर्नुभयो । मन्दिरको भुइँतला निर्माण गर्न ५ बाई ५ को एक लट इँटा मात्रै तयारी भएर आए पनि जीर्णोद्धारको काम अघि बढाउन थालिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारभाउको कारणले हो या के भएर हो आवश्यक इँटा बनाउन दिँदा पनि अझै तयारी भइसकेको छैन ।” मन्दिर वरिपरिका चार बुर्जा भत्किएकाले इँटा बनेर नआउँदासम्म कतै पनि नछुने निधो गरेको उहाँले जानकारी गराउनुभयो ।

मन्दिरमा कूल १०८ थरीका इँटा प्रयोग भएको जनाइएको छ । नयाँ बनाउनुपर्नेको एक–एक नमूना झिकी गत माघमा बनाउन दिइसकेको इञ्जिनीयर प्रणाम होराले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “यी इँटा घरायसी प्रयोजनमा प्रयोग गर्नेभन्दा भिन्न र सानो हुने भएकाले बन्न केही समय लाग्ने भयो । मन्दिरको चार कुना भत्काउनुपर्ने र एउटा कुनामा तीन थरीको इँटा रहेकाले बाहिरपट्टि बिम लेभलको २५ प्रतिशत इँटा पुनः प्रयोग गर्न मिल्दैन ।”

मन्दिरमा प्रयोग भएका इँटा कोहीमा सिंह, कोहीमा नाग, कुनैमा फूलको गुच्छा आदि विभिन्न प्रकारका आकृति रहँदा त्यस्तै बनाएर प्रयोग गरिने भएकाले ढिलो भइरहेको उहाँले जानकारी गराउनुभयो ।

सो मन्दिर जीर्णोद्धारका लागि वरिपरि फलामको बार लगाउने काम सकियो । सङ्घलगायत सम्बन्धित निकायले पुरातत्व विभागसँग समन्वय गरी मुचुल्का बनाएर पुराना इँटा झिकी नयाँ बनाउन नमूना पठाएको थियो । सो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरिसकेको छ ।

विसं २०७२ को गोरखा भूकम्पमा परेको सो मन्दिरलाई बाहिरबाट सरसर्ती हेर्दा हालसम्म बीच भाग मात्र प्रबलीकरण गर्नुपर्ने देखिएको निर्देशक रञ्जितकारको भनाइ छ ।

ज्वाला नरसिंह मन्दिरलाई केभिपिटीको प्राविधिक सहयोगमा शिखरशैलीमा उपभोक्ता समितिमार्फत निर्माण गर्ने भएकाले गत पुस २९ गते क्षमापूजा गरिएको थियो ।

सो नरसिंह मन्दिरको महिमा हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ ।

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा १६९७ मा पाटनका राजा सिद्धिनसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए ।

ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानव हिरण्यकश्यपुको बध गरी जनतालाई सत्कर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ । भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह र नृसिंह अवतार धारण गर्नुभएको कुरा विष्णुपुराणमा आधारित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !