८ बैशाख २०८१, शनिबार

गौ संरक्षणले गिद्ध संरक्षणमा राहत


गिद्ध

तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

वृद्व गाई मरेपछि नगाडी खुलारूपमा राखिदिन थालेपछि गिद्धहरु सिनो खाना आउन थालेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गौ संरक्षण गर्नुअघि गिद्धहरु देखिन कठिन हुने गरे पनि अहिले दैनिक विभिन्न प्रजातिका ५० देखि ६० वटासम्म गिद्धहरु आउने गरेको उहाँले बताउनुभयो । “सबै गिद्धको नाम त जान्दैनौ”, उहाँले भन्नुभयो, “घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरु देखिन थालेका छन् ।”

विसंं २०७५ देखि गौ संरक्षण थालिएको हो । तीन वटा ब्लकमा गरी करिब ३०० रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुका साथै गाईको मलमुत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गर्न थालिएको छ ।

गिद्ध संरक्षणले वातवरणीय सन्तुलन राख्नका लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै यसको संरक्षणका लागि थप सहयोग मिलेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । गौ संरक्षण तथा प्राङ्गारिक मल उत्पादन केन्द्रले अहिले ५२ वटा गाईको संरक्षण गर्दै आएको छ । नगरपालिकाको सक्रियतामा छाडा पशुचौपायाहरु सङ्कलन गरी व्यवस्थित गरेको हो ।

व्यास–१० मादी नदी किनारस्थित शिशुवा भतेरीमा करिब ६० घनमिटर क्षमताको बायोग्याँस प्लान्ट निर्माण गरी विद्युत् उत्पादन गरिसकेको छ । नगरपालिकाको रु सात लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु सात लाख गरी कूल रु १४ लाखको लागतमा प्लान्ट निर्माण गरी बिद्युत् निकालिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

पहिलो चरणमा इनारको पानी तानेर तरखारी खेती गर्दै आएका प्रभावित किसानहरुलाई प्राथामिकताका आधारमा निःशुल्क विद्युत् वितरण गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले दमौली क्षेत्रबाट दैनिक फोहोर सङ्कलन गर्दा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै सङ्कलन गरेर बिर्सजन गर्दै आएको छ ।

अति विपन्नलाई एम्बुलेन्स भाडामा पूर्ण छुट

व्यास–१०स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोसाइटीले विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, टोल विकास संस्था, देशविदेशमा रहेका नेपालीबाट प्राप्त चन्दा सङ्कलनबाट सामुदायिक एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याएको हो ।

टोल वा वडाले अति विपन्न भनी सिफारिस गरेको अवस्थामा सत प्रतिशत छुटको व्यवस्था गरिएको सोसाइटी उपशाखाले जनाएको छ । कोभिड प्रभावित बिरामी, अपाङ्गता भएकालाई जुनसुकै अस्पातलमा लैजानु परे पनि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । समाजमा सुपथ मूल्यमा एम्बुलेन्स उपलब्ध गराउने भएपछि सर्वसाधारणमा खुशी छाएको छ । सुत्केरी महिलाको हकमा अस्पतालमा सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ एम्बुलेन्समा लाग्ने शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अन्य सेवा सुविधाका लागि सोसाइटीले निर्देशिका बनाएर थप प्रदान गरिने निणर्य भएको शाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनदेखि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।

हालसम्म नगद तथा कबोल गरेको समेत गरी रु २९ लाख नौ हजार ७५० सङ्कलन भएकामा एम्बुलेन्स खरिदमा रु १३ लाख ६६ हजार ३६० खर्च भएको छ । बी ग्रेड किसिमको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहे पनि समय लाग्ने भएकाले तत्काललाई सी ग्रेडको बनाएर सञ्चालनमा ल्याइएको अभियानका अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । जिल्लाको ऋषिङको कोटदरबार र देवघाट गाउँपालिका रेडक्रस सोसाइटी उपशाखाले एम्बुलेन्स सञ्चालन गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !