७ बैशाख २०८१, शुक्रबार

धरहराको छेउमै मापदण्ड मिचेर व्यापारिक भवन बनाइँदै


house

१६ फागुन, काठमाण्डौ । भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सुरु भएकै छैन, तर अब धरहरा छेउमै जग्गा मापदण्डविपरीत व्यपारिक भवन निर्माण सुरु भएको छ ।

गुठी संस्थानले ५ वर्षका लागि आफ्नो जग्गा भाडामा दिएपछि त्यसैमा नयाँ ब्यापारिक भवन बनाउन लागिएको छ । काठमाण्डौ महानगरपालिकाले सो भवन बनाउन स्वीकृति पनि दिएको छ ।

ऐतिहासिक धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएपछि स्थानीयले त्यसको विरोध सुरु गरेका छन् । यसमा महानगरपालिका र गुठी संस्थानले आर्थिक चलखेल गरेको आरोप उनीहरुको छ ।

धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको छ ।

रातारात राष्ट्रिय सम्पदा नै नास्ने गरी धरहराको मापदण्ड क्षेत्रभित्र भवन बन्न लागेको काठमाडौं महानगरपालिकका ११ नम्बर वडाका अध्यक्ष हिरालला तण्डुकारले जानकारी दिए ।

यो संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै अहिले स्थानीय आन्दोलित भएका छन् । धरहरा बचाउ अभियान संघर्ष समिति नै बनाएर स्थानीयहरु आन्दोलित भएका हुन् ।

उनीहरुले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरुलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराइसकेका छन् । पुरातत्व विभागले सो भवनले पुरतात्विक मापदण्डको क्षेत्रभित्र पर्छ कि पर्दैन भन्नेबारे अध्ययन गर्न शुक्रबार विशेषज्ञ टोली पठाउँदैछ ।

वडाध्यक्ष शाक्य खुला क्षेत्रका रुपमा राख्नुपर्ने गुठीको जग्गामा ब्यापारिक भवन बनाउन नहुने पक्षमा छन् । उनी महानगरपालिकाले पनि भवन निर्माणको लागि लागि स्वीकृति दिएर गल्ती गरेको बताउँछन् ।

‘ठूलौ आर्थिक चलखेल भएको देखिन्छ । मैले गुठी संस्थानका हाकिमसा’बसँग पनि कुरा गरेँ । त्यहाँ सानो भवन बनाएर पार्किङस्थल राख्ने योजना रहेको बुझेको छु,’ उनले भने ।

पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थानको जग्गामा पार्किङ गरी गुठीले आम्दानी गर्न सक्ने बताएपनि भौतिक संरचना बनाउन दिएको थिएन ।

अहिले त्यसैका आधारमा स्थानीयलाई गुमराहमा राख्दै राष्ट्रिय धरोहर मास्ने खेल भइरहेको स्थानीयको आरोप छ ।

‘मेरो धरहरा मै बनाउँछु भन्नेहरुले खोई चासो दिएका ? धरहरा बनाउन शुरु गर्नुपर्ने ठाउँमा मापदण्डविपरित भवन बनाउन दिएर महानगरपालिकाले गल्ती गरिरहेको छ,’ संघर्ष समितिका वेदप्रकाश गौतमले भने,’अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ । यो राष्ट्रको धरोहरलाई नमूना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होइन ।’

‘अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ ? गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाइदैनँ’ आक्रोशित अर्का स्थानीयले भने, ‘विना सूचना अरुको घर अगाडि खाल्डो खन्न पाइँदैन ।’

स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताए । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाउन लागिएको उनीहरुले बताएका छन् ।

स्थानीय सुशिल विक्रम थापाले भने, ‘विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु । तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्विकृति दियो, अचम्ममा छौं ।’

भू-माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भइरहेको भन्दै आक्रोशित स्थानीयहरुले व्यापारिक भवन निर्माण नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलावाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो । दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो । स्रोत : अनलाईन खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !