११ बैशाख २०८१, मंगलबार

मध्यपहाडी लोकमार्ग : निराशापछिको आशा


मध्यपहाडी राजमार्ग

गलकोट । लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको सडकखण्डमा पछिल्लो समय कामले केही तीव्रता लिएको छ । लोकमार्गको ट्र्याक खुलेको २४ वर्षपछि कालोपत्र हुन थालेपछि यहाँका जनता लोकमार्गप्रति केही आशावादी बनेका छन् ।

अहिले मध्यपहाडी लोकमार्गको बागलुङ बजारबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडकमा कालोपत्र गर्ने तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । लोकमार्ग कार्यालयको ताकेतापछि निर्माण सम्झौता भएको पाँच वर्षपछि उक्त सडक कालोपत्र गर्ने तयारीमा लागेको छ ।

अहिले बागलुङ बजारको उपल्लाचौरबाट धमाधम बेस बिछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ । मध्यपहाडीको उपल्लो खण्डका रूपमा रहेको घोडाबाँधेमा साढे तीन किलोमिटर सडक ग्राभेल भइसकेको र कालोपत्रको तयारी थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो । “अहिले अन्तिम पटक असारसम्म म्याद थपिएको छ, काम नगरी निर्माण व्यवसायीलाई सुखै छैन, अहिले बेस, ग्रेडिङ तथा ग्राभेलको काम भइरहेको छ”, शर्माले भन्नुभयो, “पटक–पटक आयोजनाको ताकेतापछि अहिले आशलाग्दो तरिकाले लोकमार्गको काम भइरहेको छ, जेठ मसान्तसम्म २५ किलोमिटरमध्ये १७ किलोमिटर सडक कालोपत्र हुने सम्भावना देखिन्छ ।”

बर्खाको पानी काट्नका लागि लोकमार्गको टाउको दुखाइको विषय बनेको बोक्से खाल्टामा क्रस चेनजेज कल्भर्ट निर्माण गरिएको छ । अहिले सबबेस हालेर ग्रेडिङ गरेको र तत्कालै ग्राभेलका लागि कच्चा पदार्थ सडकमा छर्ने काम भइरको बागलुङ बजारबाट अछेते–बिहुँ खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भरत सिद्धिशाहीका प्रतिनिधि नवराज रावलले जानकारी दिनुभयो । उहाँले जेठ मसान्तसम्म सडक कालोपत्र गर्ने गरी निर्माणलाई तीव्रता दिइएको बताउनुभयो ।

बागलुङ बजारबाट अछेतेसम्मको आठ किलोमिटर र बिहुँ घोडाबाँधेको नौ किलोमिटर सडक कालोपत्र गर्नका लागि तयारी भइसकेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले १७ किलोमिटर सडक कालोपत्र गरेमा अन्य बाँकी रहेको आठ किलोमिटर सडक असारसम्म कालोपत्रका लागि काम गर्ने सम्भावना देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएपछि कालोपत्रको तयारी थालिएको छ । बर्षातका कारण समस्या नभएमा जेठमा लोकमार्गले परिणाम दिने आयोजनाको विश्वास छ ।

मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्याविन भर्ने, मेसिनरी पर्खाल र नाली निर्माण ९० प्रतिशत सकिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि लोकमार्गको काम अगाडि बढेको थियो । अबको असारभित्र कालोपत्र नगरे निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न आयोजनाले सिफारिस गर्ने चेतावनीपछि लोकमार्गको जिल्ला सदरमुकाम खण्ड कालोपत्र गर्नका लागि काम अगाडि बढेको हो ।

निर्माण व्यवसायीलाई काम गर्न दिएको असार मसान्त अन्तिम पटक भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । कूल एक हजार ७७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सो खण्डमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी भएको आयोजना कार्यालय प्रमुख मरासिनी बताउनुहुन्छ । बागलुङको ‘लाइफलाइन’का रूपमा जोडिएको सडकमध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड विसं २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड विसं २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

लोकमार्गको निसीखोला खण्ड जम्मा १७ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सदरमुकामबाट बिहुँसम्मको खण्डमा ठेक्का अवधि गत माघ १२ र बिहुँबाट घोडाबाँधे खण्डको ठेक्का गत माघ ९ गते सकिएसँगै कोरोनाका कारण असार मसान्तसम्म पु¥याइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !