७ बैशाख २०८१, शुक्रबार

१९ कर्मचारीलाई कारवाही


office work

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ ।

गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ । सो कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो ।” पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिनुभयो ।

सो कार्यालयमा कार्यरत कर्मचारीले पटकपटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो ।

किसानलाई भेडा वितरण

फुङ्लिङ नगरपालिकामा किसानलाई भेडाका पाठापाठी वितरण गरिएको छ । मासु, ऊन र मलको उत्पादन गर्न सकिने बहुउपयोगी घरपालुवा पशुका रुपमा रहेको भेडा पालनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले किसानलाई भेडा वितरण गरेको हो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा भेडा प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेटको व्यवस्था गरेरै नगरपालिकाभित्रका किसानलाई भेडा वितरण गरेको बताइएको छ । नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईका अनुसार वडा नं ८ दोखु चारपाटेका किसानलाई भेडाको पाठापाठी वितरण गरिएको छ । नगरपालिकाको ७५ प्रतिशत रकम अनुदानमा चारपाटेका किसानलाई ५८ भेडा वितरण गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !