१३ बैशाख २०८१, बिहिबार

पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको छः नेपाली सेना


पूर्णचन्द्र थापा फोटो फाइल

महोत्तरी । नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको स्पष्ट पारेको छ ।

महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आज पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताउनुभएको हो । यो चार ‘स’ को सूत्रमा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारी रहेको प्रधानसेनापति थापाको भनाइ छ ।

आफ्ना अग्रज पूर्वसैनिकका लागि ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगारः आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मुख्य थिम (नारा) नै नेपाली सेनामा स्थापित रहेको प्रधानसेनापति थापाले बताउनुभयो । अवकाश प्राप्त आफ्ना अग्रजको राम्रो व्यवस्थापन हुन् सकोस् भन्ने ध्याउन्न सधैँ हुने गरेको उहाँको भनाइ छ । मातृभूमिका लागि संविधानले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपाली सेना जस्तोसुकै कठिन परिस्थितिको सामनाका लागि तयार रहेको बताउँदै उहाँले सेना राष्ट्र र जनताको आस्था एवं भरोसा रहेको स्पष्ट पार्नुभयो । प्रधानसेनापति थापाले यो आशा, भरोसा र आस्था कहिल्यै कमजोर हुन नदिन नेपाली सेना प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

समारोहमा भूपूसैनिक र आश्रित परिवारको आर्थिक स्तरोन्नति गर्न सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिइएको थियो । यो कोषमा अहिले रु ५८ अर्बभन्दा बढी रकम सञ्चित भइसकेको समारोहमा स्पष्ट पारिएको छ । समारोहमा चार वा सोभन्दा बढी आफ्ना सन्तानलाई नेपाली सेनामा भर्ना उत्प्रेरित गर्ने २८ अभिभावकलाई सम्मानित गरिएको छ । त्यसैगरी चार जना अपाङ्ग तथा अशक्तलाई बैशाखी (ह्विलचेयर) र छ जनालाई लघुवित्त कार्यक्रम तथा महिलाउद्यमशिलता कर्जा प्रदान गरिएको छ । त्यसैगरी दुई जना सर्वोत्कृष्ट लघुवित्त व्यवसायीलाई प्रधानसेनापति थापाले सम्मान पनि गर्नुभयो ।

समारोहमा मध्यपूर्वी पृतना कार्यक्षेत्रभित्रका सैन्य अधिकृत र उल्लेख्य सङ्ख्यामा पूर्वसैनिकको सहभागिता रहेको देखिएको छ । मध्यपूर्वी पृतना कार्यक्षेत्रअन्तर्गत महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !