८ बैशाख २०८१, शनिबार

समाजमा पर्ने सूचनाको प्रभावप्रति रासस र सञ्चार जगत् संवेदनशील बन्नुपर्छ : राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रले प्रवाह गर्ने सूचना एवम् विचारबाट समाजमा ठूलो प्रभाव पर्ने भएकाले राष्ट्रिय समाचार समिति लगायत सञ्चार जगत् यसप्रति संवेदनशील र चनाखो बन्नुपर्ने बताउनुभएको छ ।

मुलुकको अग्रणी समाचार संस्था रासस आफ्नो स्थापनाको हीरक वर्ष प्रवेश गरेका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजमा पछि पारिएका वर्ग, सीमान्तकृत समुदाय, हिंसामा परेका महिला तथा बालबालिका, लुकेर रहेका प्रतिभा, राष्ट्रिय गौरवका विषय आदि उजागर गरी राससले राज्यप्रतिको आफ्नो भूमिका अझै बढाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।

सही सूचना नै शक्ति हो भन्ने मान्यतामा आधारित भई राससले सदैव आधिकारिक, विश्वसनीय तथा सत्यतथ्य एवं निष्पक्ष राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्वीर र श्रव्यसामग्री प्रस्तुत गरेर नेपाली सञ्चार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, राज्यका नीति, सरकारका निर्णय र कार्यक्रमलगायत विषयवस्तु समयमै जनतासमक्ष सुसूचित गर्ने तथा सर्वसाधारण, बुद्धिजीवी, नागरिक समाज र राजनीतिक दलसँग सम्बन्धित जनचासोका विषयमा समाचार एवं विचार सम्प्रेषण गरी राष्ट्रिय नीतिनिर्माणमा योगदान दिंँदैआएको, समाचार प्रस्तुतिमा सदैव निष्पक्ष भूमिका निर्वाह गरिआएको जनाउँदै राष्ट्रपतिले यसका समाचारमा प्रयुक्त शिष्टतापूर्ण भाषा सबै सञ्चारमाध्यमका लागि अनुकरणीय रहेको पनि बताउनुभएको छ ।

संस्थाको हीरक वर्षका अवसरमा राससलाई विश्वका प्रतिष्ठित समाचार समितिकै दाँजोमा पु¥याउनका लागि विशेष नीति एवं दृष्टिकोण बनाउन नेपाल सरकार र सम्बद्ध पक्षले भूमिका खेल्ने विश्वास राष्ट्रपतिले प्रकट गर्नुभएको छ । हीरक वर्ष प्रवेशका अवसरमा वर्षभरि नै रचनात्मक क्रियाकलापका साथ आफ्नो सेवा विस्तार गर्दै नेपाली सञ्चारजगत्को नेतृत्व गर्न रासस सक्षम होस् भन्ने कामनासहित राष्ट्रपति भण्डारीले स्थापनाकालदेखि हालसम्म राससको प्रगतिमा योगदान गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, व्यवस्थापक, कर्मचारी एवं पत्रकार, ग्राहक तथा आमपाठकको उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले राससको हीरक वर्षका अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ

मुलुकको अग्रणी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो स्थापनाको हीरक वर्ष प्रवेश गरेको सुखद् अवसरमा सम्पूर्ण राससकर्मी, प्रेस जगत् एवं पाठक वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु । स्थापनाकालदेखि हालसम्म राससको प्रगतिमा योगदान गर्नुहुने सम्पूर्ण पदाधिकारी, कर्मचारी एवं पत्रकारहरूप्रति आभार प्रकट गर्दछु ।

सही सूचना नै शक्ति हो भन्ने मान्यतामा आधारित भई राससले सदैव आधिकारिक, विश्वसनीय तथा सत्यतथ्य एवं निष्पक्ष राष्ट्रिय–अन्तरराष्ट्रिय समाचार, आलेख, तस्वीर र श्रव्यसामग्री प्रस्तुत गरेर नेपाली सञ्चार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राज्यका नीति, नेपाल सरकारका निर्णय र कार्यक्रम लगायतका विषयवस्तु समयमै जनतासमक्ष सुसूचित गर्ने तथा सर्वसाधारण, बुद्धिजीवी, नागरिक समाज र राजनीतिक दलसँग सम्बन्धित जनचासोका विषयमा समाचार एवं विचार सम्प्रेषण गरी राष्ट्रिय नीति निर्माणमा राससले योगदान दिंँदैआएको कुरा सर्वविदितै छ । समाचार प्रस्तुतिमा यसले सदैव निष्पक्ष भूमिका निर्वाह गरिआएको तथ्य पनि स्मरणीय छ । राससका समाचारमा प्रयुक्त शिष्टतापूर्ण भाषा सबै सञ्चारमाध्यमका लागि अनुकरणीय रहेको छ ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसँगै नेपाली सञ्चार जगत् थप परिपक्व हुँदै गएको छ । सञ्चार क्षेत्रले प्रवाह गर्ने सूचना एवं विचारबाट समाजमा ठूलो प्रभाव पर्ने भएकाले राससलगायत सञ्चार जगत् यसप्रति संवेदनशील र चनाखो बन्नुपर्दछ भन्ने मलाई लागेको छ ।

समाजमा पछि पारिएका वर्ग, सीमान्तकृत समुदाय, हिंसामा परेका महिला तथा बालबालिका, लुकेर रहेका प्रतिभा, राष्ट्रिय गौरवका विषय आदि उजागर गरी राससले राज्यप्रतिको आफ्नो भूमिका अझै बढाउने अपेक्षा गर्दछु । यस संस्थाको हीरक वर्षका अवसरमा म राससलाई विश्वका प्रतिष्ठित समाचार समितिकै दाँजोमा पु¥याउनका लागि विशेष नीति एवं दृष्टिकोण बनाउन नेपाल सरकार र सम्बद्ध पक्षले भूमिका खेल्ने विश्वास प्रकट गर्दछु ।

हीरक वर्ष प्रवेशका अवसरमा वर्षभरि नै रचनात्मक क्रियाकलापका साथ आफ्नो सेवा विस्तार गर्दै नेपाली सञ्चारजगत्को नेतृत्व गर्न रासस सक्षम होस् भन्ने कामनासहित संस्थाका व्यवस्थापक, कर्मचारी एवं पत्रकार, ग्राहक तथा आमपाठकको उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !