पहिचानका खोजीमा झापाको ‘भक्का’ Nepalpatra पहिचानका खोजीमा झापाको ‘भक्का’
२४ फाल्गुन २०७७, सोमबार

पहिचानका खोजीमा झापाको ‘भक्का’


भक्का

झापा ।
हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिवासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र अनुपम स्वाद भेटिने हुँदा बच्चादेखि पाकासम्मका लागि बिहानी खाजाका रुपमा भक्का लोकप्रिय बनेको छ ।

धानको चामललाई पीठो बनाएर माटाको हण्डी (भाडा)मा पकाइने बटुका आकारको सुख्खा परिकार नै भक्का हो । राजवंशी भाषामा यसलाई ‘भाक्का’ भनिन्छ । पहिलेपहिले बाफ उड्दै गरेको तात्तातो भक्का ढकीमा बोकेर राजवंशी महिला गाउँतिर बेच्न लैजान्थे । आफूले बाल्यकालमा केराको पातमा राखेर भक्का खाएको सम्झना आइरहने नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

“पिरोपिरो चटनीमा चोबेर खाँदाको स्वाद नै अर्कै हुन्छ”, विगत ४० वर्षदेखि भक्का खाँदै आएको अनुभूति सुनाउँदै उहाँ भन्नुहुन्छ, “राजवंशी समुदायका महिलाले मात्र भक्का पकाउने र बेच्ने गर्छन्, यसमा त्यो समुदायको सांस्कृतिक पहिचान गाँसिएको छ ।”

अहिले व्यावसायिकरुपमा भक्काको उत्पादन हुन थालेको छ । ठूला होटल र रेस्टुराँमा यसको बिक्री बढेको छ । यसको इतिहास, परम्परा र पहिचानका लागि भक्काको गहन खोज तथा अनुसन्धान जरुरी भएको पत्रकार काजीको धारणा छ । अनुसन्धान भएपछि भक्कालाई राजवंशी जातिको नेपाली परिकारका रुपमा अन्तरराष्ट्रिय पहिचान दिलाउन सहज हुने उहाँले बताउनुभयो ।
गीतकार ज्ञानु राजवंशी विदेशी खाद्य परिकारले बजारमा कब्जा गरिरहेको अवस्थामा आदिवासी राजवंशी समुदायको भक्का, मुरीलगायतका नेपाली मौलिक परिकार ओझेलमा परेको गुनासो गर्नुभयो । “आज भाक्का राजवंशीको भान्साभित्र मात्र सीमित छैन”, उहाँ भन्नुहुन्छ, “गैर आदिवासी नै भक्काको स्वादमा रमाउने गर्नुभएको छ । तर सरकारले यसलाई पहिचान दिलाउन र प्रवद्र्धन गर्न मद्दत गरेको छैन ।”

विर्तामोड र काँकडभिट्टामा होटल व्यवस्थापनको अध्यापन गर्दै आउनुभएका स्प्रिन्डल कलेजका प्रबन्धक नीरज श्रेष्ठले उत्कृष्ट नेपाली परिकारका रुपमा भक्कालाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भक्काको स्वाद र यसमा पाइने पौष्टिक तत्वका बारेमा वैज्ञानिक खोज तथा अनुसन्धान गर्नसके अन्तरराष्ट्रिय बजारमा यसले पहिचान पाउने उहाँको सुझाव छ ।

सय डिग्री सेल्सियसको तापक्रममा उम्लिएको पानीको बाफमा उसिनेर पकाइने हुँदा भक्का शुद्ध, अर्गानिक र स्वास्थ्यबद्र्धक खुराक भएको श्रेष्ठले बताउनुभयो । बिबिसीले हालै आयोजना गरेको ‘मास्टर सेफ प्रोफेसनल २०२०’ प्रतियोगितामा दोस्रो भएका नेपाली सेफ सन्तोष साहले बेलायतमा नेपाली टोपी लगाएर भक्कासमेत पकाएको उहाँले स्मरण गर्नुभयो ।

झापा हुँदै भक्काको परिकार पहाड मात्र उक्लिएको छैन, काठमाडौँका केही रेस्टुराँमा यसले ग्राहक पल्काउन थालिसकेको छ । बाहै्र महिना चिसो भइरहने इलामको पर्यटकीयस्थल कन्याममा एक व्यक्तिले भक्काको व्यापार शुरु गरेका छन् । झापा घर बताउने माया खड्का ताजपुरीयाले काठमाडौँको डिल्लीबजार ओरालोमा बिहान भक्का बेच्न शुरु गरेकी छन् । काठमाडौँमा माग बढेको हुँदा भक्काको व्यापारले उहाँलाई राम्रै फाइदा दिएको छ । अनामनगर, भृकुटीबजार र बागबजारका केही रेस्टुराँमा भक्का बिक्री हुने गरेको छ ।

भक्का दिवस

भक्काको प्रवद्र्धन गर्न जिल्लामा विगत चार वर्षदेखि भक्का दिवस मनाउन थालिएको छ । गत पुस २९ गते विर्तामोडमा ‘कोचिला गाभुर फ्रन्ट’ नामक सामाजिक संस्थाले भक्का दिवसको आयोजना गरेको हो ।

भक्कालाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले भक्का दिवस मनाउन थालिएको गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारीभयो । यसपाली विगतको तुलनामा भव्यताका साथ दिवस मनाइएको थियो । भक्का खान हजारौँ भेला भएका थिए ।

कार्यक्रममा जातीय पहिरन र गरगहनाले सजिएका राजवंशी युवतीले भक्का बनाएर पाहुनालाई खुवाएका थिए । सो अवसरमा झापाका राजनीतिक, सामाजिक र जातीय सङ्घसंस्थाका अगुवाको उल्लेखनीय सहभागिता थियो ।

कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशीले भक्का दिवसलाई मान्यता दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले पूर्वी तराईमा बसोबास गर्ने आदिवासी राजवंशी जातिको मौलिक परिकार भक्का सांस्कृतिक पहिचान र महिलाको आर्थिक उन्नतिको आधार पनि भएको बताउनुभयो ।

जिल्लामा सयौँको सङ्ख्यामा राजवंशी महिलाले भक्काको व्यापारबाट जीविका चलाइरहेका छन् । मेचीनगर–१० धुलाबारी चोकमा हरेक बिहान भक्का बेच्दै आउनुभएकी रुपसरी राजवंशीले विगत २० वर्षदेखि भक्का बेचिरहेको बताउनुभयो ।

थोरै पूँजी र सामान्य भाँडाकुँडाबाटै नै भक्का बन्ने भएको हँुदा यसको व्यापार निकै फाइदाजनक छ । मेचीनगर, विर्तामोड, दमक, गौरादह, भद्रपुर, कचनकबललगायतका स्थानमा सयौँको सङ्ख्यामा भक्का बनाएर बेच्ने साना पसल चलेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !