११ बैशाख २०८१, मंगलबार

महासभाको विशेष अधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डल गठन


महासभाको विशेष अधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डल गठन

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

यही मङ्सिर ७ र १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ महामारी सम्बन्धी मङ्सिर १८ र १९ गते हुने विशेष अधिवेशनका लागि प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

बैठकले सरकारले यही मङ्सिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मङ्सिर १८ र १९ गते हुने नेपाल-भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको श्रव्य/दृश्य बैठकमा सहभागिताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेश आन्दोलनका घाइतेहरूको तथ्याङ्क सङ्कलन गरी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सार्वजनिक सूचना जारी ऐतिहासिक आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनमा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी प्रशानस विनियमावली, २०७७, सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७, नेपाल सरकार (कार्य सम्पादन) (छैटौँ संशोधन) नियमावली, २०७७, र नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गरेको छ । बैठकले नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०७७ को मस्यौदामा लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !