११ बैशाख २०८१, मंगलबार

सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री


सान्ना मरिन

मंसिर २४, हेलसिन्की (एजेन्सी) । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । ३४ वर्षीया मरिनलाई सोसल डेमोक्र्याटिक पार्टीले सरकारको नेतृत्व गर्न चयन गरेको थियो । प्रधानमन्त्री एन्टी रिन्नेले पदबाट राजीनामा दिएपछि यातायात तथा सञ्चारमन्त्री मरिनलाई उनको पार्टीले प्रधानमन्त्री बनाउन लागेको हो ।

उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिने छिन् । उनी विश्वकै बहालवाला कान्छी प्रधानमन्त्री हुन लागेकी हुन् । फिनल्यान्डको भने उनी तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् । हुलाक सेवाका कर्मचारीको आन्दोलनपछि गठबन्धन पार्टी सरकारबाट बाहिरिएसँगै रिन्नेले संसद्मा विश्वासको मत गुमाएका थिए ।

सोसल डेमोक्रेट्समा आबद्ध भएपछि मरिनले राजनीतिमा एकपछि अर्को फड्को मारिन् । उनी सन् २०१५ मा सांसद भएकी थिइन् । गत जुनदेखि उनी यातायात तथा सूचनामन्त्री थिइन् । उनकी २२ महिनाकी छोरी छिन् ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदमा आसीन प्रधानमन्त्री बन्नेछिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुकको उमेर हाल ३५ वर्ष भयो भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्ष पुगिन् । यसअघि सन् २०१७ को डिसेम्बरमा अस्ट्रियाका सेबास्टियन क्रुज सबैभन्दा कम उमेर ३१ वर्षमा चान्सलर बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !