८ बैशाख २०८१, शनिबार

दक्षिण कोरियाली आणविक दूत चीन जाने


South Korea Flag

सियोल, २५ भदौ । दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्नुभएको छ ।

मङ्गलबार मात्र उत्तर कोरियाले दुई वटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार कोरियाली प्रायःद्वीपका लागि दक्षिण कोरियाली उच्च आणविक दूत लि दु हुनले यसै हप्ता चीनको भ्रमण गर्न लाग्नुभएको हो ।

कोरियाली द्वीपको शान्ति र सुरक्षासम्बन्धी दूत हुनले यही बिहीबार चीन भ्रमण गर्ने र चीनका उपमन्त्री लुओ चाओइसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

संयुक्तराज्य अमेरिकासँग उत्तर कोरियाले हालैमात्र वार्ताका लागि आह्वान गरेको थियो । त्यस लगत्तै उत्तर कोरियाले मङ्गलबार मात्र समुद्री तटतर्फ छोटो दूरीका हतियार नै प्रहार गरेको समाचार आएको छ ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार उक्त भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयहरुका साथै कोरियाली द्वीपमा हालै विकसित परिस्थितिका बारेमा कुराकानी हुनेछ ।

उत्तर कोरियाका पहिलो उप विदेशमन्त्री चो सन हुईले उत्तर कोरिया अमेरिकासँग आगामी सेप्टेम्बर महिनामा वार्तामा बस्न इच्छुक रहेको जानकारी एक विज्ञप्तिमार्फत दिनुभएको छ ।

उत्तर कोरियाली सरकारी समाचार समितिले सोमबार सो जानकारी दिएको थियो । अमेरिकासँग वार्तामा बस्न आफूहरु इच्छुक रहेको तर वार्ताका लागि दिन भने निश्चित नभएको उहाँले बताउनुभएको थियो ।

उहाँ गत महिना दक्षिण कोरिया भ्रमणमा जानुभएको थियो । त्यस क्रममा उहाँले संयुक्तराज्य अमेरिका उत्तर कोरियासँग कोरियाली द्वीपका विषयमा कुराकानी गर्न चाहेको बताउनुभएको थियो ।

सोही अनुसार नै दक्षिण कोरियाले पनि अमेरिकासँग बस्ने चाहना राखेको र त्यसका लागि सेप्टेम्बरको अन्त्यतिरको समय प्रस्ताव गरिएको जानकारी पनि दिनुभएको थियो ।

उत्तर कोरियाले अमेरिकासँग अर्काे चरणको वार्ताका लागि तथा आणविक कार्यक्रमहरुको पूर्ण रुपमा अन्त्यका लागि आफूमाथि लागेका प्रतिबन्धहरुलाई फुकुवा गर्नुपर्ने माग गर्दै आएको छ ।

तर पनि अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएका प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा भने केही बताएको छैन ।

अमेरिकासँग यसअघि नै भएको कुराकानी अनुसार ती प्रतिबन्धहरु फुकुवा नगर्ने हो भने वार्ताको कुनै औचित्य नै नरहने धारणा उत्तर कोरियाली नेता किम जोङ अनले राख्दै आउनु भएको छ । अमेरिका र उत्तर कोरियाबीच तीन पटकसम्म उच्चस्तरीय वार्ता भइसकेका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !