४ बैशाख २०८१, मंगलबार

जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने


Nepalpatra

नयाँदिल्ली, २४ साउन । मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ ।

कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताउनुभएको छ ।

स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक दिलबाग सिंहले बताउनुभयो ।

भारत सरकारले जम्मु काश्मिरलाई प्रदान गरिएको विशेष अधिकार रद्द गरेपछि यहाँ भड्किन सक्ने सम्भावित हिंसालाई ध्यानमा राखी सोमबारदेखि इन्टरनेट वा टेलिफोन सेवा बन्द गरिएको तथा आवागमनमा कडा प्रतिबन्ध लगाइएको छ ।

काश्मिरमा हजारौंको संख्यामा थप सुरक्षाफौज पठाइएको छ । भारतको यस कदमलाई पाकिस्तान र केही भारतीय विपक्षी राजनीतिज्ञहरूले निन्दा गरेका छन् ।

भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ ।

भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ । (रासस-एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !