७ बैशाख २०८१, शुक्रबार

जेरुसेलमका प्यालेस्टिनी घरहरु भत्काउन शुरु


प्यालेस्टाइन, ६ साउन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।

इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ ।

उक्त स्थानमा रिपोर्टिङका लागि संवाददाताहरुलाई पनि प्रवेश गर्न दिइएको छैन । घरका मानिस र त्यहाँ भेला भएका अधिकारकर्मीहरुलाई जबर्जस्ती घर बाहिर निकालिएको छ ।

घरधनी एक व्यक्तिले “म यहीँ मर्न चाहन्छु” भन्दै चिच्याएका थिए ।

प्यालेस्टिनीहरुले फौजी बलमा आफूहरुलाई घरबाहिर निकालेको र ती ठाउँमा इजरायली बस्ती विस्तार गर्ने मनसाय राखेको आरोप लगाएका छन् ।

इस्माइल अबाडियेले इजरायल सरकारले घर भत्काएसँगै आफूहरु घरबारविहीन भएको प्रतिक्रिया दिनुभयो । “हामी अब सडकमा पुगेका छौं ।”

गत जुन १८ मा इजरायल सरकारले घर छाड्न ३० दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो । इजरायल सरकारले ती घर भत्काउने जानकारी पनि स्थानीयबासीलाई गराएका थिए । प्यालेस्टिनी समुदायका यहाँका अधिकाँश घर निर्माणकै क्रममा रहेका छन् ।

राष्ट्रसंघीय मानवीय सहायता निकाय (ओचा) का अनुसार इजरायलको पछिल्लो कदमबाट प्यालेस्टिनी समुदायका निर्माणाधीन १० वटा भवन भत्कनेछन् । साथै ७० वटा अपार्टमेन्ट पनि नष्ट हुनेछ । भवन भत्काउँदा करिब ३५० जना प्रभावित हुनेछन् ।

युरोपेली युनियनका कुटनीतिज्ञहरुले पनि केही दिन अघि उक्त क्षेत्रको भ्रमण गरेका थिए । राष्ट्रसंघले भवन भत्काउने योजना तत्काल स्थगित गर्न इजरायल समक्ष आग्रह गरेको थियो ।
स्थानीय प्यालेस्टिनीहरुले अरु १०० भन्दा बढी घर भत्काउन इजरायलले तयारी गरिरहेको दाबी गरेका छन् ।

इजरायलले सन् १९६७ को छ–दिने युद्धमा पश्चिम किनारा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो । इजरायलले पछि पूर्वी जेरुसेलमलाई भने इजरायलको अभिन्न भूभागका रुपमा इजरायलमा विहीन गरेको थियो तर अन्तर्राष्ट्रिय समुदायले इजरायलको उक्त कदमलाई कहिल्यै स्वीकार गरेका थिएनन् ।

इजरायलले सन् २००० को दशकमा प्यालेस्टिनी क्षेत्रबाट इजरायललाई अलग्याउन पश्चिम किनारामा पर्खाल लगाउन शुरु गरेको थियो । प्यालेस्टिनीहरुले उक्त पर्खाललाई “रङ्गभेदी पर्खाल” को संज्ञा दिने गरेका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !