७ बैशाख २०८१, शुक्रबार

किन लगाइन मुस्लिम सांसदले सिन्दूर र मंगलसुत्र ?


एजेन्सी । भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन ।

उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै आलोचना र समर्थन पनि भयो । ती टिप्पणीको हालै उनले जवाफ दिएकी छन् । संसद बैठकमै मंगलसुत्र र सिन्दूरमा संसद बैठक पुगेकी थिइन् नुसरत । त्यस क्रममा उनको टिप्पणी भएको हो ।

उनले आफ्नो विश्वास र आस्थामाथि प्रश्न नउठाउन भन्दै आलोचकहरुलाई कडा जवाफ दिएकी छन् । व्यवसायी निखिल जैनसँग विवाह गरेकी उनले कस्तो पहिरन लगाउने भन्ने आफ्नो व्यक्तिगत इच्छा भएको भन्दै आलोचनाको जवाफ दिएकी हुन् ।

जब कि, नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि मुस्लिम समुदायबाटै उनले आफ्नो धर्मको अपमान गरेको टिप्पणी गरेका थिए । शनिबार भने नुसरतले ट्वीट गर्दै आलोचनाको जवाफ एकैचोटी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म स्वतन्त्र भारतको प्रतिनिधि हुँ । जुन धर्म, जाति र पन्थबाट पर छ । कट्टरपन्थीहरुको वयानमा ध्यान दिनु भनेको घृणा र हिंसा जन्माउनु हो ।’

नुसरतले भनेकी छन्, ‘म मुस्लिम हुँ र रहनेछु । म के पहिरन लगाउँछु यसमा कसैलाई केही बोल्ने हक छैन ।आस्थाको मतलब विश्वास हो ।’ खासगरी मुस्लिम धर्मगुरुहरुले उनको खरो टिप्पणी गरेका थिए ।

नुसरतले सिन्दूर र मंगलसुत्र लगाएपछि उनले मुस्लिम धर्मको अनादर गरेको उनीहरुको टिप्पणी थियो । २९ वर्षीया सांसद नुसरत जहाँले २५ जुनमा संसदमा सपथ ग्रहण गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !