१२ बैशाख २०८१, बुधबार

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा


indonesia-1 (1)

जाकार्ता, ९ जेठ । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने भएकोले निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाई गरिएको समाचार छ ।

राजधानी जाकर्तामा बिहीबार दशौँ हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहीबार बिहानैदेखि सुरक्षामा कडाई गरिएका समाचारहरु आइरहेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

गत मङ्गलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौँ झडपहरु भएका थिए ।

विशेषगरी राजधानी जाकर्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी जोको बिडोडोको विरोध भएको छ । यहाँका विपक्षीहरुले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन् । प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिहरुमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन् ।

मङ्गलबारबाट हिंसा शुरु भएको थियो । निर्वाचनजन्य हिंसामा परी बुधबार बिहान ९ बजेसम्म छ व्यक्तिको मृत्यु हुनुको साथै करिब दुई सयभन्दा बढी घाइते भएका मध्य जाकर्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको समाचारमा उल्लेख छ ।

मङ्गलबार रातिबाट शुरु भएको यो झडप पाँच घण्टासम्म जारी रहेको थियो । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको बिडोडो मङ्गलबार पुनःराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

जाकर्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासितरुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उहाँको विरोधमा प्रर्दशनकारीले प्रर्दशन शुरु गरेका थिए ।

निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचन स्वच्छ र स्वस्थ रुपमा हुन नसकेको आरोप लगाउनुभएको छ ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो ।

इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गर्नुभएको थियो ।

निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मान्नुभएको छैन । उहाँले पाँच ओटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिनुभएको छ ।

यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ । तर राष्ट्रपति बिडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !