८ बैशाख २०८१, शनिबार

हेल्सिन्की–टाल्लिन सुरुङ बनाउन १६ अर्ब डलर ऋण


Nepalpatra

२४ फागुन, हेल्सिन्की । फिनइस्ट बे एरियाले फिनल्यान्डको राजधानी हेल्सिन्की र इस्टोनियाको राजधानी टाल्लिन जोड्ने रेलका लागि समुद्रमुनि सुरुङ बनाउन चीनको टचस्टोन क्यापिटल पार्टनर्ससँग वित्तीय सम्झौता भएको जनाएको छ ।

सुरुङ निर्माणका लागि टचस्टोनले १६ अर्ब ८० करोड डलर (१५ अर्ब युरो) उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कूल लगानीको एक तिहाई हिस्सा निजी क्षेत्रले लगानी गर्नेछ । दुई तिहाई हिस्सा भने ऋण लगानी हुनेछ ।

“विस्तृत वित्तीय विवरणमा आगामी छ महिनाभित्रै सहमति जुटाइनेछ,” फिनइस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिनइस्टले सुरुङ निर्माणका लागि शुरुमा करिब १५ देखि २० अर्ब युरो लाग्ने अनुमान गरेको थियो ।

फिनइस्टले डिसेम्बर २०१८ मा दुबईस्थित निर्माण कम्पनी एआरजे होल्डिङबाट १० करोड डलर प्राप्त गरेको थियो भने युरोपेली लगानीकर्ताका निम्ति पनि बाटो खुला गरिएको छ । “अब वित्तीय स्रोत जुटेको छ, काम अघि बढ्छ,” परियोजनाका नेतृत्वकर्ता पिटर भस्टरबाकाले बताउनुभयो ।

फिनल्यान्ड र इस्टोनियाले वर्षौंदेखि दुई देशबीचको राजधानीलाई जोड्ने प्रयत्न गरेका थिए । यी दुई राजधानीलाई गल्फ अफ फिनल्यान्डले छुट्याएको छ ।

दशौं हजार इस्टोनियालीहरु हेल्सिन्कीमा काम गर्दछन् । उनीहरुलाई सप्ताहान्तमा घर जान समुद्री मार्ग प्रयोग गर्नु पर्दछ । फिनिस नागरिकका लागि टाल्लिन एउटा निकै लोकप्रिय गन्तव्य पनि हो । सुरुङ निर्माणबाट यात्रा समय करिब २० मिनेट मात्र हुनेछ जबकी हाल फेरिबाट यात्रा गर्दा दुई घण्टाभन्दा बढी लाग्ने गरेको छ ।

दुबै मुलुकबाट गरिएको सम्भाव्यता अध्ययनमा करिब १०० किलोमिटर लामो यो सुरुङ सन् २०४० सम्ममा निर्माण सम्पन्न हुने जनाइएको थियो । तर भस्टरबाकाले सुरुङ निर्माण कार्य सन् २०२४ भित्रै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो परियोजनालाई दुबै मुलुक र युरोपेली युनियनबाट पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।

फिनल्यान्डकी प्रधानमन्त्री जुहा सिपिलाले यसै साता इस्टोनिया भ्रमणका क्रममा सुरुङ मार्गबाट दुई देश चाँडै जोडिने बताउनुभएको थियो । (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !