७ बैशाख २०८१, शुक्रबार

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा


feliks

६ माघ, किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी हुनुभएको जनाएको छ । अदालतको आदेशसँगै शिसेकेडीलाई मुलुकमा लामो समय शासन गर्नुभएका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ ।

निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्नुभएको थियो ।

“म अन्तर्राष्ट्रिय समुदायसमक्ष यो चुनावी नतिजा अस्वीकार गर्न र नयाँ सत्तालाई मान्यता नदिन आग्रह गर्दछु, किनभने यसले कङ्गोली जनताको वास्तविक प्रतिनिधित्व गरेको छैन,” फायुलुले भन्नुभयो । उहाँले आफू नै मुलुकको एकमात्र बैधानिक राष्ट्रपति भएको दाबी पनि गर्नुभयो ।

कङ्गोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको शुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो, तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो । अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो भने फायुलुले संवैधानिक अदालतमा चुनावी नतिजा खारेज गर्न माग गर्दै मुद्दा दर्ता गर्नुभएको थियो ।

आइतबार, संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ । फायुलुले पुनः मतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाई छ ।

न्यायाधीश नोल किलोम्बाले भन्नुभयो, “राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको छ ।”

अदालतको आदेश आश्चर्यजनक मानिएको छैन, किनभने अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीहरुले बनेको छ ।

शिसेकेडीका सयौं समर्थक अदालतको परिसरमा प्लेकार्ड लिएर भेला भएका थिए । उनीहरुले “विदेशीको हस्तक्षेप स्वीकार्य छैन” र “कङ्गो स्वतन्त्र राष्ट्र हो” भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । अदालत परिसरमा दङ्गा प्रहरी तैनाथ गरिएको थियो ।

अदालतको आदेश लगत्तै राजधानी किन्सासा समेतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था अझ सुदृढ पारिएको छ ।

यसअघि, निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण आगामी मङ्गलबारका लागि तोकेको थियो ।

निर्वाचन आयोगले जनवरी १० मा गरेको घोषणा अनुसार शिसेकेडीले करिब ३९ प्रतिशत र विपक्षी फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !