७ बैशाख २०८१, शुक्रबार

बोलिभियाले गर्यो इटालीका पूर्व लडाकूको सुपुर्दगी


Nepalpatra

३० पुस, रोम । बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा पक्राउ गरिएको थियो ।

इटालीमा प्रतिबन्धित सशस्त्र क्रान्तिकारी समूहमा आबद्ध रहेको आरोपमा सन् १९७९ मा थुनामा परेका बाटिस्टी त्यसको दुई वर्षपछि कारागारबाट फरार भएका थिए । सन् १९७० को दशकमा चार जनाको हत्या आरोपमा जेल सजाय सुनाइएका बाटिस्टीलाई त्यसपछि फरार सूचीमा राखिएको थियो ।

इटालीले बाटिस्टीलाई सुपुर्दगी गर्न बोलिभियासमक्ष पटकपटक आग्रह गरेको थियो । बाटिस्टी ब्राजिलका बामपन्थी पूर्व राष्ट्रपति लुइज इनासीयो लुला डी सिल्भाको संरक्षणमा वर्षौंसम्म ब्राजिलमा थिए । तर अहिले सिल्भा आफैँ भ्रष्टाचारको आरोपमा जेलमा छन् ।

बाटिस्टीलाई बोलिभियाको सान्ता क्रुज डे ला सिएरा शहरमा इटालेली र बोलिभियाली प्रहरीको संयुक्त कारबाहीका क्रममा गत शनिबार पक्राउ गरिएको इटालीको प्रहरीले जनाएको छ ।

इटाली सरकारी स्रोतका अनुसार प्रहरी सामुन्ने ६४ वर्षीय बाटिस्टीले कुनै प्रतिक्रिया बेगर नै आत्मसमर्पण गरेका थिए । गिरफ्तारीका समयमा उनी नक्कली दाह्री र जुँगामा थिए ।

उनलाई तत्कालै इटाली अधिकारी समक्ष बुझाइएको थियो । उनलाई बोलिभियाबाट हवाई जहाजमा राखेर इटाली ल्याइएको इटालीका गृहमन्त्री माटिओ साल्भिनीले बताउनुभयो ।

मन्त्री साल्भिनीले ट्वीट गर्दै भन्नुभएको छ, “बाटिस्टीलाई पक्राउ गर्न सफल भएकामा हामीलाई गर्व लागेको छ, र खुशी छौं ।”

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले पनि फेसबुकमा बाटिस्टीलाई पक्राउ गर्न सहयोग गरेकामा ब्राजिलका राष्ट्रपतिप्रति आभार व्यक्त गर्नुभएको छ ।

बाटिस्टीमाथि दुई जना इटाली प्रहरीको हत्या आरोपमा आजीवन कारबासको सजाय दिइएको छ । साथै, उनीमाथि अरु दुई जनाको हत्यामा संलग्न रहेको आरोप छ ।

पूर्व लडाकू बाटिस्टीले आफू सशस्त्र लडाकू समूहमा आबद्ध भएको स्वीकारेका छन्, तर कुनै पनि हत्यामा आफू संलग्न नरहेको बताउँदै आएका छन् ।

तर, इटाली सरकार सन् १९६० को दशकमा भएका हिंसात्मक आक्रमणका दोषीमाथि कारबाही गर्न प्रतिबद्ध रहेको छ । उक्त हिंसाबाट दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोका छोरा एडुआर्डोले ट्वीट गदै ब्राजिल अब अपराधीहरु लुक्ने भूमिका रुपमा नरहने बताउनुभएको छ ।

कारागारबाट फरार बाटिस्टीले पछिल्लो समय आफूलाई लेखकका रुपमा उभ्याएका छन् । सन् २००४ मा उनी फ्रान्समा भेटिएका थिए, तर त्यहाँबाट फुत्केका थिए । त्यसपछि उनी ब्राजिल पुगे, तर सन् २००७ मा उनी रियो दे जेनेरियोमा पक्राउ परे ।

केही वर्ष कारागारमा बिताएपछि तत्कालीन राष्ट्रपति लुलाको आदेशमा थुनामुक्त गरियो, तर इटाली समक्ष सुपुर्दगी गरियो । पाँच वर्षका ब्राजिलियाली छोरा समेत रहेका बाटिस्टीले गत वर्ष एएफपी समक्ष आफूलाई इटाली फिर्ता गरिए यातना दिइनसक्ने बताएका थिए । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !