८ बैशाख २०८१, शनिबार

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु


शव

२९ पुस, दुबई । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

यमनको अल–अनन्द हवाई अखडामा सैनिक परेड भइरहेका बखत गत बिहीबार हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणबाट गुप्तचर निकायका ब्रिगेडियर जनरल सालेह तमाहा गम्भीर घाइते हुनुभएको थियो । उक्त सरकार नियन्त्रित सैनिक अखडा यमनको दोस्रो ठूलो सहर एडेनबाट करिब ६० किलोमिटर उत्तरको लाहिज प्रान्तमा रहेको छ ।

स्वास्थ्य अधिकारीहरुले सख्त घाइते तमाहालाई एडेनस्थित अस्पतालमा उपचार गरिएको तर आइतबार बिहान मृत्यु भएको जनाएका छन् । उक्त आक्रमणबाट तमाहा समेतका सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । संयुक्तराष्ट्र सङ्घको पहलमा भएको युद्धबिरामलाई नै यो आक्रमणले सङ्कटमा पार्ने अनुमान गर्न थालिएको छ ।

आक्रमणमा घाइते भएकाहरुमा यमनका उपसैनिक प्रमुख सालेह अल–जन्दानी, वरिष्ट सैनिक कमान्डर फादेल हसन र लाहिजका गभर्नर अहमद अब्दुल्लाह अल–तुर्की रहनुभएको छ ।

एकजना यमेनी अधिकारीले तुर्की र जन्दानीलाई थप उपचारका लागि साउदी अरेबिया लगिएको बताएका छन् । आक्रमणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घले युद्धरत दुबै पक्षलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

गत महिना स्वीडेनमा भएको वार्तामा इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाको गठबन्धन समर्थित यमन सरकारबीच धेरैवटा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले विगत चार वर्षदेखि यमनमा जारी गृहयुद्ध अन्त्य गर्ने विश्वास लिइएको थियो ।

युद्धरत दुबै पक्षले बन्दरगाह सहर होडेडा र तेस्रो ठूलो सहर ताइजबाट आआफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाएका थिए ।

यमनमा जारी गृहयुद्धबाट १० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । साथै, यमनमा व्याप्त भोकमरिले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घ समेतका विभिन्न निकायले जनाएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !