१२ बैशाख २०८१, बुधबार

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ


दिल्ली

२० पुस, तिरुवनंतपुरम, भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र झडपसमेत शुरु भएको थियो ।

प्रवेश निषेध गरिएको इलाकाबाट पनि करिब ६ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

यद्यपी महिलालाई पनि मन्दिर प्रवेश गर्न दिनुपर्ने आदेश अदालतले केही समय पहिले नै दिएको थियो । तर अहिले पनि महिलाले मन्दिर प्रवेश गर्न पाएका छैनन् । उनीहरुलाई स्थानीयले रोक्दै आएका छन् ।

स्थानीयको विरोधमा लाखौँ महिला अधिकारीवादी, कलाकार, मानअधिकारवादीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रर्दशन गर्दै आएका छन् ।

यस विषयमा धार्मिक दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले उच्च सुरक्षा शतर्कता अपनाएको र प्रदर्शन जारी रहेका क्षेत्रमा तनाव भए पनि शान्तिपूर्ण भएको प्रवक्ता प्रमोदले बताउनु भएको छ ।

साबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा आदेश दिएको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा रही आएको छ र त्यस परम्पराको महिलाले विरोध गरेका छन् ।

रजस्वला हुँदा अपवित्र हुने मान्यता राख्ने यहाँका हिन्दूवादी स्थानीय नागरिकले महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको भन्दै उनीहरुलाइए रोकेका छ ।

यस्तो प्रचलनबाट लैङ्गिक रुपमा भेदभाव भएको भन्ने मुद्दा परेपछि अदालतले मन्दिर प्रवेशमा निषेध नगर्न आदेश गरेको हो ।

तेस्रो महिला प्रवेश

यसैबीच प्राप्त अर्काे एक पछिल्लो समाचारअनुसार उक्त मन्दिरमा विरोधका बाबजुद पनि एकजना महिला शुक्रबार प्रवेश गरेको बताइएको छ ।

उक्त मन्दिरमा गएको बुधबार दुई जना महिला प्रवेश गरेपछि विरोध भएको थियो । स्थानीय नागरिकले सो विरोध गरेका थिए । उक्त विरोध पछि कैयौँ व्यक्तिलाई पक्राउ गरिएको छ र स्थानीयले कुनै पनि हालतमा सो मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने बताएका छन् ।

शुक्रबार एकजना महिला जबर्जस्ती प्रवेश गरेको र उनलाई प्रहरीले सुरक्षा दिएको स्थानीय समाचारमाध्यमले जानकारी दिएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !