१२ बैशाख २०८१, बुधबार

जिम्बावेसंग २ रनले हार्यो अफगानिस्तान


एजेन्सी, २२ फागुन ।  विश्वकप छनोट अन्तरगत मंगलबार भएको खेलमा जिम्बावेले अफगानिस्तानमाथि दुई रनको रोमाञ्चक जित हात पारेको छ ।

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरेको जिम्बावेले जित निकालेको छ । स्कटल्याण्डसंग पहिलो खेलमा हार बेहोरेको अफगानिस्तानले यो संगै लगातार दोश्रो खेलमा हार बेहोरेको छ ।

जिम्बावेले दिएको १९७ रनको मध्यम स्तरको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले सुरुवातमा राम्रै प्रदर्शन गरे पनि एकाएक विकेट झर्न थालेपछि समस्यामा परेको थियो । ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १६३ रन जोडेको अफगानिस्तान सहज स्थितिमा देखिए पनि ३७ औँ ओभरमा सिकन्दर राजाले तीन विकेट लिएपछि अफगानिस्तान समस्यामा परेको थियो । अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि मात्रै ४ रन आवश्यक थियो ।

तर अफगानिस्तानसँग मात्र एक विकेट बाँकी थियो । त्यो पनि बलर । अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसकेका दौलत जदरानले दोस्रो बलमा एक रन जोडे पनि तेस्रो बलमा सपूर जदरान बीभी भिटोरीको बलमा ब्रेन्डन टेलरबाट क्याचआउट भएपछि अफगानिस्तान जितबाट मात्रै दुई रनले चुक्यो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ६९ रन बनाए । त्यस्तै मोहम्मद नाबीले ५१, मोहम्मद शाहजादले २४ तथा दौलत जदरानले नटआउट १० रन बनाए । अफगानिस्तानका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावेका लागि बी मुजराबानीले ४, सिकन्दर राजाले ३, बीभी भिटोरीले २ तथा तेन्दाई चटाराले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको जिम्बावेले अफगानिस्तानलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो ।

जिम्बावेले ४३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९६ रन बनाएको हो । अफगानिस्तानी बलरका अगाडि जिम्बावेका सुरुवाती ब्याट्सम्यान जम्न सकेनन् । जिम्बावले दश ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै मात्र २४ रन जोडेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !