१३ बैशाख २०८१, बिहिबार

चर्चित बलिउड अभिनेता ऋषि कपूरको अन्त्येष्टि


ऋषि कपुर

मुम्बई, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपूरको बिहीबार अन्त्येष्टि गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा अपरान्ह् ४ बजे उहाँको अन्त्येष्टि गरिएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।

अन्तिम संस्कारका बेला उहाँका पारिवारिक सदस्यहरुसँगै चर्चित कलाकारहरु अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान, आलिया भाटलगायतका कलाकारहरु र इष्टमित्रहरु उपस्थित भएका थिए ।

झण्डै दुई बर्षदेखि क्यान्सर रोगबाट पिडित कपूरको मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ८ः४५ बजे निधन भएको हो ।

भारतीय चलचित्रहरुमा रोमान्टिक अभिनेताका रुपमा चिनिनु भएका कपूर ६७ बर्षको हुनुहुन्थ्यो । उहाँको सन् १९५२ को सेप्टेम्बर ४ मा मुम्बईमै जन्म भएको थियो ।

उहाँको पारिवरको तीन पुस्ता नै चलचित्रमा संलग्न रहेको छ । उहाँहरुको परिवारलाई अभिनयको खानी भएको परिवारका रुपमा चिनिने गरिन्छ । ऋषिका छोरा रणवीर कपूर अहिले पनि बलिउडका स्टार हुनुहुन्छ भने उहाँका पिता र हजुरबुवा पनि चर्चित कलाकार हुनुहुन्थ्यो ।

पारिवारिक माहौल नै चलचित्रमय भएकाले उहाँले सानैदेखि अभिनयमा रुचि देखाउनु भएको थियो ।

सन् १९७० मा बनेको चलचित्र ‘मेरा नाम जोकर’ बाट उहाँले औपचारिक रुपमा चलचित्र क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँले दर्जनौ चलचित्रहरुमा अभिनय गर्नु भएको छ भने थुप्रै पुरस्कार तथा सम्मानहरु पनि पाउनु भएको छ ।

उहाँलाई सन् २००८ मा फिल्म फेयर लाइफटाजइम अचिभमेन्ट अवार्ड, सन् २०१६ मा स्क्रिन लाइफटाइम अचिभमेन्ट अवार्डलगायत प्रदान गरिएको थियो ।

भारतका अर्का चर्चित कलाकार इरफान खानको निधन भएको भोलिपल्ट कपूरको निधन भएको छ । यसबाट भारतीय सिनेमा क्षेत्रका दुई होनाहार कलाकारहरू अब केबल सम्झनामा मात्र सिमित रहनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !