६ बैशाख २०८१, बिहिबार

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ को मृत्यु


भाइरस कोरोना भारतमा ८ जनाको मृत्यु

२ वैशाख, एजेन्सी । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् ।

भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।

गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ,। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !