कोरोनाको असरः सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी Nepalpatra कोरोनाको असरः सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी
१७ फाल्गुन २०७७, सोमबार

कोरोनाको असरः सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी


सिंगापुर एयरलाइन्स

सिंगापुर, १७ चैत । कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र ३ खर्ब ६० करोड डलर बराबरको नोक्सानी व्यहोर्ने सम्भावना देखिएको छ किनभने सबैजसो देशमा घरेलु र अन्तर्राष्ट्रिय दुबै किसिमका व्यावसायिक उडानहरु लगभग बन्द अवस्थामा छन् ।

सिड्नीस्थित हवाई उड्डन केन्द्र (सिएपिए)को अनुमान अनुसार सरकारहरुबाट आवश्यक सहयोग नपाए मे महिनाको अन्त्यसम्ममा धेरै कम्पनी टाट पल्टिने अवस्थामा पुग्नेछन् । केन्द्रले यस वर्ष आधाजसो विश्वव्यापी सञ्जाल भएका एयरलाइन्सले ग्राहक नै नपाउने अवस्था पनि प्रक्षेपण गरेको छ ।

कम्पनी टाट पल्टिने अवस्थासम्बन्धी एडवार्ड अल्टम्यानले सन् १९६० को दशकमा विकास गरेको जेड–स्कोर विधिको प्रयोग गर्दै ब्लुमबर्गले केही विमान कम्पनी टाट पल्टिने अवस्था आउने औंल्याएको छ । ब्लुमबर्गका अनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्स, स्पाइसजेट, नर्वेजियन, अमेरिकन एयरलाइन्स, स्काई वेस्ट, एयर एसिया, एसियाना एयरलाइन्स, भर्जिन अस्ट्रेलिया, कोरियन एयर, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्स सबैभन्दा ठूलो खतरामा रहेका छन् ।

यो सूची वास्तवमै पूर्ण होइन । यो विश्लेषणमा सरकारको जमानत, शेयरहोल्डरबाट हुने पूँजी लगानी, र अरु लगानीका स्रोतका बारेमा समावेश गरिएको छैन ।

जेड–स्कोरले मुख्यतः कम्पनीको तरलता स्थिति, ऋण तिर्ने क्षमता, नाफा, लाभप्रदता र पछिल्लो कार्यसम्पादन समेतका पाँच विषयलाई ध्यान दिएको छ ।

ट्राभल उद्योगसँग सम्बन्धित तथ्याँक उपलब्ध गराउने संस्था सिरियमका अनुसार अधिकांश एयरलाइन्समा अहिले नगद प्रवाहको अवस्था दयनीय छ किनभने विश्वका झण्डै एक तिहाई विमानहरु अहिले थन्क्याएर राखिएको छ ।

एसिया प्रशान्त क्षेत्रका विमानस्थलहरुले यस क्षेत्रका १२ वटा मुख्य विमानस्थलमा हवाई ट्राफिक गतवर्षको तुलनामा मार्चको दोस्रो साता औसतमा ८० प्रतिशतले कमी आएको बताएका छन् । सिंगापुर एयरलाइन्स जस्ता राम्रै ट्«याक रेकर्ड भएका कम्पनी पनि कोविड–१९ को जालोमा परेका छन् ।

महामारीको संकट उत्पन्न हुनु ठीक अघिसम्म सिंगापुर एयरलाइन्स विश्वमै १५औं ठूलो विमान सेवा थियो । यसले विश्वका ३५ भन्दा बढी मुलुकका करिब १४० स्थानमा उडान भरिरहेको थियो ।

अघिल्लो साता सिंगापुर एयरलाइन्सले अप्रिलको अन्त्यसम्म आफ्ना उडानलाई ९६ प्रतिशतले कटौती गर्ने घोषणा गरेको थियो । कम्पनीले आफ्ना सिंगापुर एयरलाइन्स र सिल्क एयरका १४७ मध्ये १३८ वटा विमानलाई ग्राउन्डेड गर्ने बताएको थियो । बजेट एयरलाइन्सका रुपमा चिनिएको स्कूटले पनि आफ्ना ४९ मध्ये ४७ वटा बिमान उडाउन छाडेको छ ।

कतिपय विमान कम्पनीहरुले विमान उत्पादकहरुसँग पनि थप बिमान खरिदमा ढिलाई गर्ने बारेमा छलफल शुरु गरेका छन् र यदि त्यसमा सहमति भए विगतमा अर्डर दिइसकेका विमानको भुक्तानीमा पनि ढिलाई हुने निश्चित छ ।

कम्पनीको उच्च नेतृत्वले व्यवस्थापन खर्चमा पनि कटौती गर्ने योजना सार्वजनिक गरिरहेका छन् । पाइलट समेतका धेरै कर्मचारीलाई विदा दिन थालिएको छ । करारमा रहेका कर्मचारीले अवकाश पाउने सम्भावना छ । यसबाट करिब १० हजार कर्मचारीमाथि प्रत्यक्ष असर पर्नेछ ।

सिंगापुरको आन्तरिक बजार छैन । सिंगापुर एयरलाइन्सको व्यावसायिक मोडेल नै सिंगापुरका नागरिक वा चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्नेहरुमाथि निर्भर छ ।

सिंगापुर सरकारले मार्च २४ देखि चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्न विदेशी नागरिकलाई पनि निषेध गरेपछि र विश्वका सबैजसो देशले हवाई यात्रा रोकेपछि सिंगापुर एयरलाइन्सले आफ्ना उडानको संख्या कटौती गर्नुको विकल्प थिएन ।

मार्च २४ मा स्टक बजारमा शेयर खरिदबिक्रीमा रोक लगाइएसँगै सिंगापुर एयरलाइन्सले एउटा आर्थिक उद्धार प्याकेज घोषणा गरेको थियो । सिंगापुर एयरलाइन्समा ५५ प्रतिशत शेयर रहेको सरकारी लगानी कम्पनी टेमासेक होल्डिङ्सको आडभरोसामा उक्त प्याकेज घोषणा गरिएको थियो । उक्त आर्थिक प्याकेजमा ३.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर जारी गर्ने तथा ६.८ अर्ब डलर बराबरको परिवर्तनीय ऋणपत्र बिक्री गर्ने समावेश छ । बिक्री नहुने बाँकी शेयर र ऋणपत्र आफैं खरिद गर्ने पनि टेमासेकले जनाएको छ ।

कोरोनाको महामारीका कारण हवाई यात्रा बजारमा क्षति पुगेयता कुनै एयरलाइन्सले यतिठूलो आर्थिक प्याकेज घोषणा गरेको यो नै हो ।

सिंगापुर सरकारले गत बिहीबार घोषणा गरेको ३३.८ अर्ब डलरको कोरोनाभाइरस सिर्जित पूरक बजेट प्याकेजभन्दा थप हो । सरकारले ट्राभल र हवाई उद्योगलाई मद्दत गर्न १ अर्ब सिंगापुर डलरको अलग्गै व्यवस्था गरेको छ । आर्थिक दृष्टिबाट असर परेका कम्पनीहरुमा कार्यरत सिंगापुरका कामदारलाई उनीहरुले प्राप्त गर्ने ज्यालाको ७५ प्रतिशतसम्म भुक्तानी गरिने सरकारको घोषणामा छ ।

कोरोनाभाइरसको महामारीका कारण २१ दिने लकडाउन घोषणा गरेको भारतका विमान सेवाहरुमाथि पनि ठूलो असर पर्नेछ । सिएपिएको अनुमानमा भारतीय हवाई उद्योगले जुन ३० मा समाप्त हुने सन् २०२१ को आर्थिक वर्षमा करिब ३.३ देखि ३.६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्नेछ ।

यो अनुमान अप्रिल १५ देखि लकडाउन खुल्छ र हवाई सेवा सुचारु हुन्छ भन्ने आधारमा गरिएको हो । स्न २०२१ मा ३० देखि ५० प्रतिशत घरेलु र विदेशी हवाई उडानमा कमी आउने पनि सिएपिएले जनाएको छ ।

यसबाहेक, ब्लुमबर्ग क्वीन्टका अनुसार जुनमा समाप्त हुने आर्थिक वर्षभित्रै इन्डिगो र स्पाइसजेटले क्रमशः ७३ करोड र १९ करोड नोक्सानी व्यहोर्ने छन् । व्यापार व्यवसायको अवरोध अरु तीन महिना थप गरिए इन्डिगो एयरलाइन्समा नगद प्रवाह समाप्त झैं हुनेछ ।

एयर इन्डियामा सरकारको लगानी बिक्री गर्ने सम्भावना पनि तत्कालका लागि रोकिने देखिएको छ । एयर इन्डियाले सरकारको लगानी खरिद गर्न इच्छुकका लागि यसअघि दिइएको म्याद १७ तारिखलाई बढाएर अप्रिल ३० गरिसकेको छ । परिणामस्वरुप, सरकारले एयर इन्डियालाई जीवित राख्न थप लगानी गर्नुको विकल्प छैन । सिएपिएका अनुसार एयर इन्डियामा भारत सरकारले कम्तीमा ३० करोड डलर लगानी गर्नु पर्नेछ ।

सिएपिएका अनुसार हवाई क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न सरकारले हवाई उद्योगलाई सहयोग गर्न थप प्याकेज ल्याउनु आवश्यक छ । सरकारले संकट झेलिरहेका विमान कम्पनीका कर्मचारीलाई तलब दिने, विमानस्थल प्रयोग बापत लिइने शुल्कहरु मिनाहा गर्ने र हवाई इन्धनलाई जिएसटी अन्तर्गत ल्याउनु आवश्यक छ । सिएपिएले परिस्थिति सामान्य नहुँदासम्म वा तीनदेखि छ महिनासम्म यी व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !