७ बैशाख २०८१, शुक्रबार

बेलायती प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन


borisjhonson

लण्डन, १५ भदौ । संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन् ।

राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिनुभयो ।

संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वीतीयले चासो राख्नु भएको थियो ।

प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आउनु भएको छ ।

उहाँले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गर्नुभएको थियो ।

निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।

तर उहाँले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गर्नुभएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !