
काठमाडौं । चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद प्रकट गरेको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको हो ।
भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोल्दै भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको हो ।
चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको छ ।
भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा चीन कूटनीतिक द्विविधामा परेको हो । पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो ।