
वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भने, “आजबाट अमेरिकाको स्वर्ण युगसुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ।” उनले अगाडि भने, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु।”
शपथ ग्रहण गरेपछि ट्रम्पले भने,”अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पारे । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
“अमेरिकाको सार्वभौमिकता पुनस्र्थापित हुनेछ, सुरक्षा पुनस्र्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उनले भने । ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताएका छन् ।
राष्ट्रपति ट्रम्पले भने, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।” डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका थिए ।
ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । उनले भने, ”यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।”
उनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा सोमबार नै हस्ताक्षर गर्ने बताए । ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताए ।