
वासिङ्टन डिसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुन: चल्न थालेको छ । लगभग १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको हो ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएसँगै अब अमेरिकामा टिकटक चल्न थालेको हो ।
अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन८ र क्यापकट पनि हटाइएको थियो ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ ।
त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको बताएको थियो ।
यद्यपि आइतबार बिहान ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा थियो ।
अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताइएको छ ।